पोखरामा ३ वर्षपछि खुल्यो ‘सोलो प्याराग्लाइडिङ’

हिमाल प्रेस २४ असार २०८२ २१:०२
18
SHARES
पोखरामा ३ वर्षपछि खुल्यो ‘सोलो प्याराग्लाइडिङ’

पोखरा- आजभन्दा ३ वर्षअघि पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङलाई समेत समावेश गराइएपछि पोखरेली पर्यटन व्यवसायमा निकै खुसी छाएको थियो। तर त्यो खुसी धेरैबेर टिकेन।

सोही प्रतियोगिताको क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएका पाइलट निस्सिम थापाको अकालमा ज्यान गयो। गोरखा घर भई लेकसाइड बस्दै आएका निस्सिम त्यसबेला मात्र २६ वर्षका थिए। त्रिभुवन आर्मी क्लबबाट भाग लिएका उनी सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट उडान भरेको ३ मिनेटमै भुइँमा पछारिएका थिए। उनकै सम्झनामा पोखरा रंगशालामा अर्धकदको सालिक समेत बनाइएको छ।

उक्त कहालीलाग्दा दुर्घटना हुनुमा असुरक्षाको कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङको सोलो (एकल) उडान रोकेको थियो। यसरी लामो समयसम्म रोकिएको सोलो प्याराग्लाइडिङ खुला गरिएको छ।

प्राधिकरणले नेपाल हवाई खेलकुद संस्था (ना), कास्कीलाई गत १८ असारमा एक पत्र लेख्दै अनुमति खुला भएको जनाएको हो। प्राधिकरणका तर्फबाट मनोरञ्जनात्मक उड्डयन शाखाका प्रमुख ज्ञानेन्द्र भुलले नालाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘…सोलो प्याराग्लाइडिङ उडानसम्बन्धी कार्यविधि–२०८१ बमोजिम सोलो प्याराग्लाइडिङ उडानलाई नियमित तथा व्यवस्थित गर्ने निर्णय भएको हुँदा सो कार्यविधिलाई देहायबमोजिम कार्यान्वयन गरी सुरक्षित रुपमा उडान सञ्चालन सुचारु गर्न-गराउनहुन निर्णायानुसार अनुरोध गरिन्छ।’

शर्तहरूमा नाको जिम्मामा रहेको प्याराग्लाइडिङ जोनभित्र सो संस्थाको प्रत्यक्ष निगरानी तथा सुपरीवेक्षणमात्र उडान सञ्चालन गर्नुपर्ने, प्याराग्लाइडिङ जोनभित्र हुने सम्पूर्ण सोलो प्याराग्लाइडिङ उडान सम्बन्धित उड्डयन सञ्चालन तथा उड्डयन प्राधिकरण संस्थाको निगरानी तथा जिम्मेवारीमा मात्र सञ्चालन गर्नुपर्ने, जोनभन्दा बाहिरको जुनसुकै एयर स्पेसमा विशेष अवस्थामा सोलो प्याराग्लाइडिङ उडान सञ्चालन गर्नुपर्ने अवस्थामा मनोरञ्जनात्मक उड्डयन नियमावली, २०६९ बमोजिम प्राधिकरणबाट विशेष उडान अनुमति लिई तोकिएका शर्तहरू बमोजिम सञ्चालन गर्नुपर्ने लगायत छन्।

नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष अनिल केसीले प्राधिकरणको निर्णयले पोखराको साहसिक प्याराग्लाइडिङ खेलमार्फत यहाँको पर्यटनमा टेवा मिल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हामीहरूले उडान खुलाउन धेरै प्रयास गरेका थियौं। क्षेत्र विस्तार र इण्ड अफ लेकसम्म ल्याण्डिङ गराउने काम डेढ महिना भइसकेको छ। अहिले सोलो पनि खुलेकोमा खुसी लागेको छ।’ तर उनका अनुसार सोलो प्याराग्लाइडिङमा चुनौती पनि उत्तिकै छन्। ‘पोखरा विमानस्थल भएकाले क्यानले मात्र बनाएको मापदण्डले पूर्ण हुन सक्दैन,’ उनले भने, ‘हामीले अझ स्टडी गरेर एकदुई वटा कुराहरू थपेर अझ विस्तार गर्ने प्रयासमा छौं।’

वास्तवमा प्याराग्लाइडिङको सुरुआत सोलोबाट नै भएको हो। यसबाट विदेशी प्याराग्लाइडिङ पाइलटलाई अझ आकर्षित गर्नेछ। अध्यक्ष केसीका अनुसार सोलो उडानका लागि पोखरामा बर्सेनि करिब १ हजार जना पर्यटक आउँथे। उनीहरूले कम्तीमा २ सातादेखि २ महिनासम्म पोखरामा बस्ने गर्दा यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा मिलेको थियो। उडान रोकिँदा उनीहरू आएका थिएनन्।

ना संस्थामा हाल ६५ प्याराग्लाइडिङ कम्पनी आबद्ध छन्। तीमध्ये ५७ नवीकरण भएकामा ५३ कम्पनी क्रियाशील छन्। नेपालमा करिब ४ सय जना प्याराग्लाइडिङ पाइलट छन्। तीमध्ये महिला १५ जना जति छन्। नेपाली पाइलटहरु विदेश पलायन भएकाले हाल करिब २ सय ४० जना मात्र क्रियाशील रहेको अनुमान केसीको छ।

प्रकाशित: २४ असार २०८२ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast