
काठमाडौँ- रसुवा जिल्लामा मंगलबार आएको बाढीमा परेर सातजनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ। नेपाल प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका मध्ये सातवटा शव भेटिएको हो। ती शवको पहिचान भने हुन सकेको छैन।
घटनामा १२ ना नेपालीसहित १८ जना बेपत्ता छन्। बेपत्तामध्ये तीनजना प्रहरी, नौजना सर्वसाधारण तथा ६ जना चिनियाँ नागरिक छन्।
बाढीबाट जिल्लाका गोसाइँगुण्ड गापाको १, २ र ३ वडा, आमाछोदिङ्मो गापाका १, २, ४ र ५ वडा, उत्तरगया गापाका २, ४ र ५ वडा तथा कालिका गापाको १ नम्बर वडामा क्षति पुगेको प्रहरीको विवरणमा उल्लेख छ।
यसैगरी धुन्चेदेखि टिम्मुरेसम्मको बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीमा परेका मध्ये ५५ जनाको सकुशल उद्धार गरिएको प्रहरीको विवरणमा उल्लेख छ। तीमध्ये चारजना महिला छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले रसुवागढीमा उद्धार कार्य जारी रहेको बताए। उनले बाढीले कटान गरेकोले आवतजावतमा समस्या छ भने मोबाइल नेटवर्क र इन्टरनेट पनि बन्द भएको छ। बाढीबाट उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा सारिसकिएको बताए।
नेपाल-चीन जोड्ने मितेरी पुल बगाई सडक सम्पर्क पूर्ण रुपमा टुटेको छ।
यसैगरी स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड बाढीले गर्दा पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। रसुवा भन्सार कार्यालयको यार्डमा क्षति भएको छ। यसैगरी रसुवागढी जलविद्युत आयोजनाको ड्याममा सामान्य क्षति भएको छ। रसुवा भन्सार कार्यालय, टिमुरेको यार्ड/सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि राखिएका केही थान मालवाहक ट्रक, कन्टेनर र विद्युतीय सवारी बगाएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
बेपत्ता भएका व्यक्तिहरूको विवरण
बेपत्ता हुने तीनजना प्रहरीमा लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहरा छन्। यसैगरी बर्दियाका पाँचजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू लक्ष्मीनारायण थारू र सुरेश थारू छन्। उनीहरू हाइड्रोपावरका मजदुर रहेको अनुमान गरिएको छ।
बेपत्ता हुनेमा अन्यमा नरेन्द्र विक. (बागलुङ) र फुर्वा लामा (सिन्धुपाल्चोक) छन्। गोविन्द मोक्तान र लोकमान तामाङको भने वतन खुलेको छैन। बाढीमा परी चिनियाँ नागरिकहरू यूयूई, लिहुंकिङ, याङ चुआन, हाई हाङ, यू स्याओ कुई, जोउ योङ हराइरहेको रसुवा प्रशासनले जनाएको छ।
सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन्।
मन्त्रालयत प्रश्नोत्तरको उत्तर दिने क्रममा उनले रसुवामा आएको बाढीले निर्माणधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पुर्याएको बताए। उनले भने, ‘उक्त बन्दरगाहमा झन्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको थियो। हाल क्षतिग्रस्त छ। चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो, कति क्षति भयो भन्ने विवरण अहिलेसम्म आएको छैन।’