विवादित शर्मालाई सहकारी नियमन प्राधिकरणको अध्यक्ष बनाउँदै ओली सरकार

हिमाल प्रेस २४ असार २०८२ १५:५१
12
SHARES
विवादित शर्मालाई सहकारी नियमन प्राधिकरणको अध्यक्ष बनाउँदै ओली सरकार

काठमाडौँ- सरकारले एमाले सहकारी विभागका सदस्यलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बनाउने तयारी गरेको छ। एमाले सहकारी विभागका सदस्य डा. खगराज शर्मालाई मापदण्डविपरीत सरकारले प्राधिकरणको अध्यक्ष बनाउने तयारी गरेको हो।

राममणि क्याम्पसमा अध्यापन गराएका शर्मालाई क्याम्पस व्यवस्थापनले बर्खास्त गरेको थियो। यो मुद्दा अहिले अदालतमा विचाराधीन छ।

राजनीतिक दलको जिम्मेवारीमा रहेका व्यक्ति प्राधिकरणको अध्यक्ष बन्न नपाउने व्यवस्था छ। प्राधिकरण अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले एमाले शर्मासहित तीनजनाको नाम सिफारिस गरेको छ।

सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र शर्माको नाम सिफारिस गरेको प्राधिकरण स्रोतले जनाएको छ।

शर्मालाई प्राधिकरणको अध्यक्ष बनाउन मापदण्डविपरित नाम सिफारिस गरिएको स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकबाट शर्मालाई प्राधिकरण अध्यक्ष तोक्ने सरकारको तयारी छ।’

सहकारी विकास बोर्डको सदस्यसचिव भइसकेका शर्मा लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष पनि थिए। त्यसअघि उनी सिद्धार्थ बहुउद्देश्यीय सहकारीका सञ्चालक पनि भएका थिए।

प्राधिकरण अध्यक्षका लागि एमाले सहकारी विभागका सचिव तथा सहकारी महासंघ सञ्चालक परितोष पौडेलसहित ६ जनाको आवदेन परेको थियो।

आवेदन दिनेमा अर्जुनप्रसाद पोखरेल, हरि नेपाल, नारायणप्रसाद पौडेल, सहकारी बोर्डका वरिष्ठ अधिकृत अनिल पौडेल र सहकारी विकास बोर्डका पूर्वसदस्य सचिव तथा नेकपा एमाले सहकारी विभागका सदस्य शर्मा थिए।

सिफारिस समितिले आवेदनकर्ता ६ जनामध्ये तीनजनको नाम सिफारिस गरेको हो। तीनजनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ। समितिले अध्यक्ष र सदस्यको योग्यता सहकारी ऐन २०४७ को दफा १०३ अनुसार कायम भएको हुनुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित: २४ असार २०८२ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast