
जनकपुरधाम- नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा पार्टीकी समानुपातिक सांसद उर्मिला देवी सिंहले सरकारप्रति समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन्।
सांसद सिंहले बजेटमा बिचौलियाहरूको प्रभाव देखिएको आरोप लगाउँदै प्रमाण आफूसँग रहेको दाबी गरिन्। उनले सरकार सञ्चालनमा अपारदर्शिता देखिएको भन्दै पार्टीको तर्फबाट दिइएको समर्थन अब कायम नरहने बताइन्।
‘बजेट निर्माण प्रक्रियामा बिचिया हाबी भएका छन्। मसँग यसको प्रमाण पनि छ,’ उनले भनिन्, ‘त्यसैले नागरिक उन्मुक्ति पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउन चाहन्छु।’
जनमत पार्टीका नेता सतीशकुमार सिंहको नेतृत्वमा बनेको मधेश प्रदेश सरकारलाई प्रारम्भमा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो। तर पछिल्लो असन्तुष्टि र गम्भीर आरोपसँगै समर्थन फिर्ता गरिएको हो।