चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

हिमाल प्रेस २४ असार २०८२ १५:१६
14
SHARES
चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

काठमाडौँ- सांसदहरूले चिकित्सक माग सम्बोधन गर्न सरकारसमक्ष माग गरेका छन्। आज बसेको राष्ट्रियसभाको बैठकमा उनीहरूले चिकित्सक आन्दोलनका कारण बिरामीहरू अलपत्रमा परेकाले समयमै उनीहरूको माग सम्बोधन गर्न सुझाव दिएका हुन्। सांसद गोमादेवी तिमल्सेनाले भनिन्,‘चिकित्सकहरूको समस्या चाँडै समाधान गर्नुपर्छ। बिरामीहरूको स्वास्थ्यमाथि खेलबाड गर्न मिल्दैन।’

सांसद पूजा चौधरीले केही वर्षयता स्वास्थ्य क्षेत्रमा द्विविधा पैदा भएको र संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा राखेको भए पनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको बताइन्। उनले भनिन्, ‘अहिले चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू अलपत्र छन् । चिकित्सकहरूको समस्या समाधानमा सरकारको ध्यान जान जरूरी छ।’

सांसद श्रीकृष्णप्रसाद अधिकारीले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा डेङ्गु फैलिएको र चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू समस्यामा परेकाले सरकारको ध्यानाकर्षण गराए। उनले गत वर्षको विपद्बाट क्षति पुगेका पूर्वाधारहरूको अझैसम्म सुधार नभएको भन्दै समयमै सरकारको ध्यान जानुपर्ने बताए। यसवर्ष पनि विपद्का घटनाहरू बढ्न सक्ने भएकाले पूर्वतयारी गर्न सुझाव दिए।

सांसद नरबहादुर बिष्टले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवागढीको मितेरी पुल समेत बगाएकाले सबै राजनीतिक दललाई एक ठाउँमा उभिएर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरे।

यसैगरी, बैठकमा सांसद बिष्टले कर्णाली प्रदेशलाई विशेष प्रदेशका रूपमा घोषणा गर्न आग्रह गरे। ‘कर्णाली प्रदेशका १० जिल्लाका आफ्नै प्रकारका विशेषता छन्। हुम्लाको लिमी उपत्यकामा रहेको गुम्बाको संरक्षण भएको छैन, त्यसलाई संरक्षण गरियोस्। अप्पर डोल्पालाई हिमाली सहरका रूपमा विकास गर्न बजेट विनियोजन आवश्यक छ,’ उनले भने, ‘कर्णालीमा विभिन्न ताल र धार्मिकस्थल छन्। पर्यटकीय विकासका थुप्रै सम्भावना छन्। तर, पर्यटकहरूका लागि बस्न होटेल वा लजको व्यवस्था छैन। अब पर्यटन पूर्वाधारको विकास गर्नु आवश्यक छ।’

प्रकाशित: २४ असार २०८२ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast