
काठमाडौँ- विदेशी पर्यटकहरू फेरि चीन फर्कन थालेका छन्। चीन सरकारले विदेशीलाई प्रवेशमा सहज बनाउँदै आफ्नो भिसा नीतिमा परिवर्तन गरेको हो। समाचार संस्था एपीका अनुसार अब ७४ वटा देशका नागरिकले भिसाबिना नै ३० दिनसम्म चीन बस्न पाउने भएका छन्।
पर्यटन, अर्थतन्त्र र चीनको ‘सफ्ट पावर’ प्रवर्द्धन गर्ने उद्देश्यले चीनले निरन्तर रूपमा भिसारहित प्रवेशको दायरा विस्तार गर्दै आएको छ। राष्ट्रिय आप्रवासन प्रशासनका अनुसार सन् २०२४ मा दुई करोडभन्दा बढी विदेशी पर्यटक भिसा बिना नै चीन प्रवेश गरेका थिए।
‘चीनको यो निर्णयले साँच्चै मानिसलाई यात्रा गर्न सहयोग गर्छ किनभने भिसाका लागि आवेदन दिनु र सम्पूर्ण प्रक्रिया पार गर्नु निकै झन्झटिलो हुन्छ’, अस्ट्रियामा बसोबास गर्दै आएका जर्जियाका जिओर्गी साभाद्जेले बेइजिङस्थित ‘टेम्पल अफ हेभन’ भ्रमणका क्रममा एपीका प्रतिनिधि फु टिङसँग भने।
यद्यपि चीनका अधिकांश पर्यटकीय स्थल आन्तरिक पर्यटकले भरिएका छन्। पर्यटन व्यवसायी र पर्यटक मार्गदर्शकहरू गर्मी बिदामा चीन आउने पर्यटकको सम्भावित भीडका लागि तयारी अवस्थामा छन्।
‘म अहिले पर्यटक आगमनको चापले निकै व्यस्त भएको छु, सम्हाल्नै कठिन हुँदै छ,’ २० वर्षभन्दा बढी अनुभव भएका अंग्रेजी भाषी पर्यटक मार्गदर्शक गाओ जुन भन्छन्। पर्यटक मार्गदर्शकको बढ्दो माग पूरा गर्न उनले अंग्रेजी बोल्ने पर्यटक गाइड बन्न चाहनेलाई प्रशिक्षण दिन थालेका छन्।
कोभिड–१९ को कडा प्रतिबन्ध हटाएपछि चीनले सन् २०२३ को थालनीमा विदेशी पर्यटकका लागि ढोका खोलेको थियो। सोही वर्षमा एक करोड ३८ लाख विदेशीले चीन भ्रमण गरेका थिए। जुन महामारीपूर्वको अन्तिम वर्ष २०१९ को तीन करोड १९ लाखको तुलनामा आधाभन्दा कम हो।
सन् २०२३ डिसेम्बरमा चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्डस्, स्पेन र मलेसियाका नागरिकका लागि भिसा–रहित प्रवेशको घोषणा गरेको थियो। त्यसयता युरोपका प्रायः सबै देशहरू यस सूचीमा समावेश भइसकेका छन्। हालै मात्र चीनले पाँच ल्याटिन अमेरिकी देश र उज्बेकिस्तानका यात्रुलाई भिसारहित सुविधा दिइएको छ। यसमा मध्यपूर्वका चार देश पनि थपिएका छन्। आगामी जुलाई १६ मा अजरबैजान थपिएपछि भिसारहित देशहरूको संख्या ७५ पुग्नेछ।
चीनले करिब दुई तिहाइ देशहरूलाई एक वर्षको परीक्षण अवधिका लागि मात्र भिसा–रहित सुविधा दिएको छ।
नर्वेका पर्यटक ओइस्टाइन स्पोर्सहेम यसले विशेष अर्थ राख्ने बताउँछन्। किनभने उनले अब चीन भ्रमणका लागि ओस्लोस्थित चिनियाँ दूतावासमा दुईपटक आउजाउ गरेर भिसा आवेदन दिनुपर्ने झन्झट हटेको छ। उनले भने, ‘दूतावास प्रायः खुल्दैन, त्यसैले प्रक्रिया निकै गाह्रो हुन्थ्यो, विशेष गरेर दुई साना बच्चासहित यात्रा गर्दा।’
‘नयाँ भिसा नीति हाम्रा लागि १०० प्रतिशत लाभदायक छ,’ अन्तर्राष्ट्रिय पर्यटकका लागि बुटिक र लक्जरी ट्राभल सेवा दिने कम्पनी वाइल्ड चाइनाकी प्रबन्ध निर्देशक जेनी झाओ भन्छिन्। उनका अनुसार व्यवसाय महामारीभन्दा ५० प्रतिशतले बढेको छ।
झाओका अनुसार हाल अमेरिकी पर्यटक अझै पनि उनीहरूको सबैभन्दा ठूलो बजार हुन्। युरोपेली पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेर हाल २० प्रतिशत पुगेको छ, जुन २०१९ भन्दा अगाडि ५ प्रतिशभन्दा पनि कम थियो। ‘हामी निकै आशावादी छौँ’, उनले भनिन्, ‘हामी आशा गर्छौं यी सुविधा निरन्तर जारी रहनेछन्।’
सांघाईस्थित अनलाइन ट्राभल एजेन्सी ट्रिप डटकम ग्रुपका अनुसार भिसारहित नीति लागू भएपछि चीनतर्फको पर्यटनमा उल्लेखनीय वृद्धि भएको छ। सन् २०२५ को पहिलो तीन महिनामा चीन भ्रमणका लागि उनीहरूको वेबसाइटमार्फत गरिएको हवाई, होटललगायतका बुकिङहरू अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर भएका छन्। तीमध्ये ७५ प्रतिशत पर्यटक भिसारहित क्षेत्रबाट आएका थिए।
चीनसँग निकट सम्बन्ध राख्ने अफ्रिकी महादेशका कुनै पनि प्रमुख देशले हालसम्म भिसारहित प्रवेश सुविधा पाएका छैनन्।
भिसा–रहित योजनामा नपरेका १० देशका नागरिकका लागि अर्को विकल्प उपलब्ध छ। उनीहरूलाई अधिकतम १० दिनसम्म चीन प्रवेशको अनुमति दिइन्छ। यो नीति चीनका ६० प्रवेश विन्दुमा मात्र लागू हुने राष्ट्रिय आप्रवासन प्रशासनले जनाएको छ।
यो ट्रान्जिट नीति ५५ देशका नागरिकलाई लागू हुन्छ, यद्यपि तीमध्ये अधिकांश देश पहिल्यै ३० दिनको भिसा–रहित सूचीमा परेका छन्। तर यो नियम भिसारहित सूचीमा नपरेका १० देशका लागि केही सीमित विकल्पका रूपमा उपयोगी छ। ती देश हुन् — चेक गणतन्त्र, लिथुआनिया, स्विडेन, रुस, बेलायत, युक्रेन, इन्डोनेसिया, क्यानाडा, अमेरिका र मेक्सिको।
यीमध्ये बेलायतबाहेक स्विडेन मात्र युरोपको उच्च आय भएको यस्तो मुलुक हो, जसलाई ३० दिनको भिसारहित सूचीमा समावेश गरिएको छैन। सन् २०२० मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा स्विडेनी पुस्तक विक्रेता गुई मिन्हाईलाई १० वर्षको जेल सजाय सुनाइएपछि चीन–स्विडेन सम्बन्ध चिसिएको मानिन्छ। गुई सन् २०१५ मा थाइल्यान्डको समुद्र किनारस्थित आफ्नै घरबाट बेपत्ता भएका थिए तर केही महिनापछि चीनको मुख्य भूमिमा प्रहरीले पक्राउ गरेको अवस्थामा भेटिएका थिए।