
काठमाडौँ- भोटेकोशीमा भीषण बाढी आएर बबन्डर मच्चाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट सुरक्षा र समन्वयको काम भइरहेको बताएका छन्।
उनले यसअघि त्रिशूली नदीमा फसेका दुईजनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिँदै सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरु आवश्यक साधन र उद्धार उपकरण सहित तैनाथ छन् र आफ्नो काम गरिरहेको जानकारी दिएका छन्।
विपद् सम्भावित क्षेत्रमा खटिएको सुरक्षा निकायको सम्पर्क नम्बरहरु सार्वजनिक गरिएकाले सूचना समन्वयका लागि सबैलाई अनुरोध गरेका छन्। गए राति भोटेकोशीको रसुवास्थित मितेरी क्षेत्रमा वाढीले ठूलो क्षति गरेको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्। अहिलेसम्म उद्धार टोलीले ९ जनाको उद्धार गरिसकेको छ।