छैटौँपटक प्रधानमन्त्री नबन्न शर्माको प्रस्ताव, म के गर्छु मेरो कुरा हो – देउवाको जवाफ

हिमाल प्रेस २३ असार २०८२ २१:०४
112
SHARES
छैटौँपटक प्रधानमन्त्री नबन्न शर्माको प्रस्ताव, म के गर्छु मेरो कुरा हो – देउवाको जवाफ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वकप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौँपटक प्रधानमन्त्री नबन्न सुझाव दिएका छन्। सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्।

उनले पाँचपटक मन्त्री भइसकेकाले मुलुक र पार्टीको हितमा हुने गरी छैटौँपटक प्रधानमन्त्री बन्नेतर्फ नलागी सम्मानजनक बिदाइ लिन सुझाव दिए।

शर्माले चितवनको एक कार्यक्रममा अब अवकाश लिने बेला आएको र पार्टीलाई एकजुट बनाउने चाहना रहेको सभापति देउवाले व्यक्त गरेको धारणाको प्रशंसा गरे।

‘चितवनमा अब अवकाश लिने बेला आयो भन्नु भएको रहेछ। यो प्रशंसनीय छ। पार्टी एक बनाउँछु भन्नुभयो, त्यो पनि सकारात्मक कुरा हो। तेस्रोपटक सभापति बन्न विधानले दिँदैन, अब छैटौँपटक प्रधानमन्त्री बन्नतर्फ नलागेर, अरु साथीलाई मार्गप्रशस्त गर्नुस्, प्रशंसा जित्नुस् सभापतिजीले,’ शर्माले भने।

नीति र सिद्धान्तमा पार्टीभित्र एकता रहेको बताउँदै उनले सभापति र प्रधानमन्त्रीका लागि मात्रै विवाद तथा प्रतिस्पर्धा रहेको उल्लेख गरे।

शर्माले भने,‘नीतिमा विवाद छैन, सिद्धान्तमा पार्टीभित्र एकता छ। विवाद र प्रतिस्पर्धा केवल सभापति र प्रधानमन्त्रीका लागि हो। सभापतिजीले अब अरु साथीलाई मौका दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ। सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा सकारात्मक प्रभाव छोड्नेछ।’

महामन्त्री शर्मापछि सभापति देउवाले बोलेका थिए। उनले अरूले भनेर आफूले निर्णय नगर्ने बताए। ‘म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन,’ उनले भने।

सभापति देउवाले आफ्नो चार वर्षे कार्यकाल भएको, विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना थप्न सक्ने महामन्त्री शर्मालाई सुनाएका थिए। उनले आफू अप्ठेरो मान्छे रहेकोले विचार पुर्‍याउनसमेत शर्मालाई सुझाव दिए।

प्रकाशित: २३ असार २०८२ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast