भोजपुर सामूहिक हत्याकाण्ड : चारै जनाको इटहरीमा अन्त्येष्टि

हिमाल प्रेस २३ असार २०८२ २०:४७
32
SHARES
भोजपुर सामूहिक हत्याकाण्ड : चारै जनाको इटहरीमा अन्त्येष्टि

इटहरी- भोजपुरको रामप्रसादराई-२, धोद्लेखानीमा शनिबार मध्यराति हत्या गरिएका चारै जनाको सोमबार साँझ अन्त्येष्टि गरिएको छ। इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा मृतक चारै जनाको सामूहिक दाहसंस्कार गरिएको हो।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल भोजपुर लगे पनि शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान ल्याइएको थियो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि सोमबार साँझ बूढीगंगा जमुना मुक्तिघाट इटहरीमा अन्त्येष्टि गरिएको हो।

भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले १५ वर्षीया मनिषा गिरी, ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीय मञ्जु गिरी र ९ वर्षीय सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ। अभियुक्त राई पनि घाइते भएकाले उनको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ।

रामप्रसाद राई गाउँपालिका २ का वडाध्यक्ष राजकुमार तामाङ (समीर)का अनुसार मृतक बेलबहादुरका जेठा छोराले सबै जनालाई दागबत्ती दिएका हुन्। ‘भोजपुर अस्पतालमा उपकरण नभएपछि धरानमा पोस्टमार्टम गरी इटहरीमा अन्त्येष्टि गरिएको हो,’ उनले हिमाल प्रेससँग भने, ‘कहिल्यै नभएको घटना भएपछि गाउँ दर्दनाक अवस्थामा छ।’ उनका अनुसार बेलबहादुर र मञ्जुको एकै चितामा अन्त्येष्टि गरियो भने सपन र मनिषाको छुट्टाछुट्टै चितामा अन्त्येष्टि गरियो।

बेलबहादुरकी छोरी मनिषाले राजेन्द्रसँग करिब सात महिनाअघि प्रेम विवाह गरेको तर पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनी माइतमै बस्दै आएकी थिइन्। केही दिनअघि मात्रै ससुराली आएका राजेन्द्रले मनिषालाई आफूसँग नपठाएको निहुँमा आक्रोशमा आएर सामूहिक हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।आफूले हत्या गरिसकेपछि प्रहरीलाई उनै राजेन्द्रले खबर गरेका थिए।

प्रकाशित: २३ असार २०८२ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast