बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

हिमाल प्रेस २३ असार २०८२ २०:३२
16
SHARES
बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित फाइल तस्बिर

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र ‘विनियोजन विधेयक,२०८१’ बहुमतले पारित गरेको हो।

बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ। उक्त प्रस्तावलाई विनियोजन विधेयकको अंग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले संसद्मा पेस गरेको प्रदेश सरकारको आव २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए। सभामुख पाठकले निर्णायार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका सांसदहरुले हुन्छ भनेका थिए भने प्रतिपक्षका सांसदहरूले हुन्न भनेका थिए।

हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी सांसद रहेकाले सभामुख पाठकले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरे।

बैठकमा प्रदेशसभाका सदस्यहरु देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिलाकुमारी लामा र सिर्जना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए।

त्यसअघि प्रदेशसभामा सरकारको बजेटमाथि सांसदहरूले आइतबार र सोमबार धारणा राखेका थिए भने विभागीयमन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट प्रस्ताव गरेको छ।

प्रकाशित: २३ असार २०८२ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast