
पोखरा- पोखराका विभिन्न ठाउँमा जुवातास खेल्नेहरूलाई कास्की प्रहरीले चार लाखसहित पक्राउ गरेको छ। प्रहरीले एकैपटक १७ जनालाई पक्राउ गर्न सफल भएको हो।
पोखरा-१०, रक्षामार्गबाट ९ जना र पोखरा–१५, घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनादीप जिसीले जनाए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
रक्षामार्गबाट ४ बुक तास र २ लाख २२ हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनायो। प्रहरीका अनुसार त्यहाँबाट पक्राउ पर्नेमा पोखरा–१९ लामाचौरका ३८ वर्षीय इन्द्रप्रसाद छन्त्याल, पोखरा–११, फूलबारीका ३९ वर्षीय हेमनारायण गर्बुजा, पोखरा–१२, माटेपानीका ४१ वर्षीय लिलप्रसाद गुरुङ, पोखरा–२९, सैनीक बस्तीका ५१ वर्षीय टेकबहादुर गुरुङ, पोखरा–१६ की ३४ वर्षीया रेनु गर्बुजा, पोखरा–९, न्युरोडकी ३४ वर्षीया दीपा पुन, पोखरा–१५, नयाँगाउँकी ३२ वर्षीया जेनिषा पुन, पोखरा–१४, चाउथेकी ३७ वर्षीया पुष्पा पुन र रक्षामार्गका ३९ वर्षीय दलबहादुर पुन हुन्।
यस्तै घलेचोकबाट ४ बुक ताससहित १ लाख ९० हजार बरामद गरिएको छ। त्यहाँबाट पक्राउ पर्नेमा पोखरा–१० का ३४ वर्षीय चन्द्रबहादुर पुन, सोही वडाको रंगशाला बस्ने ४४ वर्षीया कल्पना भन्ने टीकामाया आले, पोखरा–१०, काजीपोखरीका ३७ वर्षीय विष्णु थापा, पोखरा–१५, लक्ष्मीटोलकी ४२ वर्षीया सोनी गुरुङ, पोखरा–१५, घलेचोकका ४२ वर्षीय हिमाल गुरुङ, पोखरा–१९, लामाचौरकी ४५ वर्षीया केशकुमारी गुरुङ, पोखरा–१०, काजीपोखरीका ५१ वर्षीय टोपबहादुर थापा र पोखरा–१५ मितेरी टोलका ६७ वर्षीय बलराम गुरुङ रहेको प्रहरीको भनाइ छ।