
काठमाडौँ- रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कुलिङ अफ पिरियड प्रकरणको छानविन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले कांग्रेसकै सांसद रहेको सभापतिमाथि छानविन गर्न बनेको समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्नेतर्फ सभामुखको समेत ध्यानाकर्षण गराएको बताए।
छानविन समितिको नेतृत्व नगर्न रास्वपाले दिएको सुझावलाई गम्भीर रुपमा नलिएको उनले बताए। परियारले रास्वपा निर्णायक शक्ति नभएकाले गलत कुराहरुलाई रोक्न नसकिएको धारणा राखे। उनले कुलिङ अफ पिरियड प्रकरणको छानविनका लागि राज्य व्यवस्था समितिका सभापतिले राजीनामा दिनुपर्ने सुझाव समेत कार्यव्यवस्था परामर्श समितिमा दिएको जानकारी दिए।
परियारले छानविन समितिको नेतृत्वको विषयमा असहमति हुँदाहुँदै पनि संसदमा भएका गलत कामलाई रोक्नका लागि पार्टीबाट छानविन समितिमा सदस्य पठाएको बताए।
उनले सार्वभौम संसद बनाएको कानूनलाई कुनै अमुक व्यक्ति वा संस्थाबाट प्रभावित भएर परिवर्तन गर्ने जस्तो कुरा अब उपरान्त कहिले पनि नहुने गरी विशेष छानविन समितिले काम गर्ने विश्वास व्यक्त गरे।