
काठमाडौँ- नेपाल संगीत तथा नाट्य-प्रतिष्ठानले एकैसाथ २ म्युजिक भिडियो र ७ वटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ।
राष्ट्रिय गीत लेखन प्रतियोगिता-२०८१ मा छनोट भएका ७ वटा प्रदेशका गीत आज सार्वजनिक गरिएको हो। जसमध्ये दुई गीतको भिडियो र अन्यको अडियो रेकर्डमात्र बाहिर ल्याएको एकेडेमीले बताएको छ।
कार्यक्रममै ‘तीते तीते’ र ‘लहबीरे’ बोलको गीतको म्युजिक भिडियो र अन्य गीतको अडियो बजाइएको थियो। शिक्षासम्बन्धी चेतना फैलाउने ‘तीते तीते’ गीतको म्युजिक भिडियोलाई अभि लामाले निर्देशन गरेका हुन्। प्रकाश सापकोटाको शब्द रहेको गीतमा महेश खड्काको संगीत र शान्तिश्री परियारको स्वर छ। भिडियोमा बिना रावत र अलि तामाङले अभिनय गरेका छन्।
त्यस्तै अर्को भिडियो पूर्वी पहाड ओखलढुंगाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख लहबीरे भाकाको आधारित छ। लाहाङ सुब्बाको संगीत संयोजन रहेकाे गीतमा कुमार प्रयास, परेश राई, तेजकुमार राई, इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको स्वर छ। भिडियो अभि लामाले निर्देशन गरेका हुन्।
प्रदेशबाट सार्वजनिकमध्ये कोशीबाट तेजकुमार राईको शब्द र महेश खड्काको संगीत र सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुको स्वर रहेको गीत परेको छ।
मधेस प्रदेशबाट लिलाराज दाहालको शब्द, वसन्त सापकोटाको संगीत, प्रल्हाद तिमल्सिना र मनिसा सुनारको स्वर रहेको गीत छनोटमा परेको हो।
बागमती प्रदेशको गीतमा सिर्जना अर्यालको शब्द, शान्तिराम राईको संगीत, रोशन राईको स्वर छ। लुम्बिनी प्रदेशकोमा वसन्तकुमार आचार्यको शब्द, आशीष अविरलको संगीत र स्वर छ।
गण्डकी प्रदेशकोमा बाबुराम श्रेष्ठको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहले गाएका छन्। कर्णाली प्रदेशको गीतमा क्षितिज समर्पणको शब्द, महेश खड्काको संगीत, मिलन खपाङ्गी र मिना चौधरीको स्वर छ।
सुदूरपश्चिमको धीरन नाथको शब्द रहेको गीतमा शान्तिराम राईकोे संगीत र रोशन राईले स्वर छ। सबै गीत प्रज्ञा–प्रतिष्ठानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रतिष्ठानकी अध्यक्ष तथा कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीतहरुको रेकर्ड गरिएको बताइन्।
कार्यक्रमका संयोजक प्रतिष्ठानका उपकुलपति शम्भु राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जोगेर्ना र अभिवृद्धिका लागि सबै जना एकजुट हुनुपर्ने बताए। प्रतिष्ठानका सदस्य सचिव कुुश्मा महरा ‘प्रगति’ले सातवटै गीतको भिडियो बनाउने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा सार्वजनिक भएका भिडियोका निर्देशक र गीतकार, संगीतकार र गायकगायिकालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रम नक्सालस्थित प्रज्ञा-प्रतिष्ठानको कार्यालय भवनमा आयोजना गरिएको थियो।