
बुटवल- फ्रान्सको पेरिसमा जारी ४७ औँ विश्व सम्पदा समितिको बैठकमा प्राचीन शाक्य गणराज्य तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव पेस हुने भएको छ। गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु राज्यको तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारका तर्फबाट प्रस्ताव पेस हुनेछ।
बैठकमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) सहितको उच्चस्तरीय टोली सोमबार फ्रान्स गएको छ।
आइतबार सुरु भएको ४७ औँ बैठकका लागि उपाध्यक्ष डा. लामा शुक्रबार फ्रान्स पुगेका हुन्। उपाध्यक्ष डा. लामाले पेरिसमा जारी बैठकको पूर्वसन्ध्यामा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि प्रस्थावमा समर्थन गर्न आग्रह गरेका छन्।
विश्व सम्पदामा सूचीकृत गराउन फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सका लागि भारतीय राजदूत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, ग्वेनाले बोर्डिनसहितको टोलीले कूटनीतिक पहल जारी रखेका छन्।
यसअघि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न गत वर्ष युनेस्को विश्व सम्पदा कमिटीमा अन्तिम मनोनयन पेस गरिएको थियो। अन्तिम मनोनयनपछि इभ्यालुएसन मिसन, इकोमससहितले अध्ययन गरी विश्व सम्पदा समितिमा तिलौराकोटलाई सूचीकृतका लागि प्रस्ताव लगेको हो।
युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाण जुटाएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्तव विभागले विभिन्न चरणमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञहरूसँग तिलौराकोट क्षेत्रमै पटकपटक छलफल गरेको थियो।
अन्तर्राष्ट्रिय सम्पदा विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअल, पुरातात्त्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर गुरुङ, लुम्बिनी विकास कोषका निर्देशक ज्ञानिन राईलगायतको उपस्थितिमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काम गरिएको थियो।
सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो। य’नेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो। विश्व सम्पदा कमिटीको बैठक १६ जुलाईसम्म चल्नेछ।