
काठमाडौँ- फिल्म ‘ताराहरू’ को ‘जाम त भने कुन बाटो जाम त!’ बोलको गीत सार्वजनिक भएको छ। गीत प्रतीक्षा देवकोटा, राजेश श्रेष्ठ र आशान्त शर्माले गाएका छन्।
आशान्त फिल्मका लेखक तथा निर्देशक हुन्। यो गीत पनि उनले नै लेखेका छन्। कृष्ण प्रसाद पंगेनी शर्माले संगीत भरेको गीतमा राज पंगेनी शर्माको संगीत संयोजन छ।
गीतले फिल्मको कथालाई समेट्ने प्रयास गरिएको छ। डान्सिङ जनरामा बनेको गीतको भिडियोमा फिल्मका प्रायः कलाकार अटाएका छन्। उनीहरूकाे नृत्यले दर्शकको मन जित्न सक्नेछ।
निर्देशक शर्मासहित फिल्ममा मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोदकुमार यादव, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ।
फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामाना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ। फिल्म आगामी भदौ ६ मा प्रदर्शन हुनेछ।
वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा छन्।
यस्तो छ गीत