
काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को दुई पोस्टर सार्वजनिक भएको छ।
निर्माण टिमले काठमाडौँसहित देशका आठ सहरबाट एकैसाथ पोस्टर सार्वजनिक गरेको हो। काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट पोस्टर अनावरण गरिएको टिमले जनाएको छ।
देशभर एकसाथ पोस्टर सार्वजनिक गर्दा दर्शकमा उत्सुकता सिर्जना हुने भन्दै यो तरिका अपनाएको फिल्मका निर्माता विमल न्यौपानेले बताए। प्रचार फरक तरिकाले गर्न सके फिलमप्रति दर्शकको ध्यान खिच्न सकिने टिमको विश्वास छ।
राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिकारी र मिरुना मगर छन्। पोस्टरले उनीहरूको सम्बन्धलाई देखाउन खोजेको अनुमान गर्न सकिन्छ।
अर्को पोस्टरमा केकी एक्लै धागोले बाँधिएको अवस्थामा देखाएको छ। दुईटै पोस्टरले सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थ प्रस्तुत गरेको छ।
फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। फिल्म आगामी भदौ ६ मा प्रदर्शन गर्ने टिमको तयारी छ।
फिल्मकोअसोसियट निर्देशकमा मनिष राउत छन्। फिल्ममा अन्य कलाकारगौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि शिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।