स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्र

हिमाल प्रेस २३ असार २०८२ १०:४४
250
SHARES
स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिको व्यवस्था सम्बन्धमा सबै स्थानीय तहलाई आवश्यक निर्देशन दिएको छ।

केन्द्रले हाल कक्षा ६ र ९ मा अध्ययनरत तथा छनोट भई स्थानीय तहमार्फत सत्यापन भइसकेका विद्यार्थीहरूलाई तोकिएको छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सुरुमा स्थानीय तहमा पठाइएको बजेट तथा पछिल्लो समय थप गरिएको बजेटबाट विद्यार्थीका खातामा छात्रवृत्तिको रकम अनिवार्य रुपमा चालु आव भित्रै पठाउनुपर्नेछ। यसका लागि सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारीमार्फत बजेट उपलब्ध गराइएको पनि केन्द्रले स्पष्ट पारेको छ।

केन्द्रले उल्लेख गरेअनुसार २८ जिल्लाका ७० स्थानीय तह बाहेकका सबै स्थानीय तहलाई ब.उ.शि.नं. ३५००११०१, खर्च शिर्षक नं. २७२११, क्रियाकलाप नं. ७.२.७.७ अन्तर्गत आवश्यक बजेट पठाइएको छ। साथै, ती ७० स्थानीय तहका लागि भने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबाट आवश्यक रकम व्यवस्था गरिने बताइएको छ।

छात्रवृत्ति पाउने सबै योग्य विद्यार्थीहरूलाई चालु आवको बजेटबाट रकम पठाउने व्यवस्था गरी बाँकी नपुगेको हकमा आगामी वर्षको बजेटबाट २०८२ भदाै मसान्तभित्र आवश्यक छात्रवृत्ति रकम विद्यार्थीका खातामा जम्मा गर्ने सुनिश्चितता गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।

निर्देशक रामप्रसाद शर्माले हस्ताक्षर गरेको उक्त सूचनामा विपन्न विद्यार्थीको शिक्षामा पहुँच सुनिश्चित गर्न छात्रवृत्ति वितरणमा कुनै ढिलाइ नगरिन स्थानीय तहहरूलाई पुनः सचेत गराइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast