
काठमाडौँ- ‘विश्व सभ्यता संवाद’मा सहभागी हुन पूर्वप्रधानमन्त्री खनाल हिजो राति चीन प्रस्थान गरेका छन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ (Global Civilization Dialogue) मा सहभागी हुन हिजो राति चीन प्रस्थान गरेका छन्।
खनालको सचिवालयका अनुसार उनले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीन दिने भ्रमण गर्नेछन्। सो क्रममा उनले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्नेछन्।
हेनान भ्रमणको अन्त्यमा उनले सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन्।
नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शंकर खतिवडाका अनुसार हेनानको कार्यक्रम सकेर नेता खनाल जुलाई ९ मा चीनको राजधानी बेइजिङ पुग्नेछन्।
बेइजिङमा उनले जुलाई १० मा दुईवटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्नेछन्। पहिलो, उनले ‘मन्त्रीस्तरीय विश्व सभ्यता संवाद’को पूर्ण सत्रको तेस्रो खण्ड,‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन’ (Jointly Advocating the Promotion of the Common Values of Humanity) लाई पहिलो वक्ताको रूपमा सम्बोधन गर्नेछन्।
सोही दिन उनले ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाई र प्राज्ञिक संवाद’ शीर्षकको छैठौँ उप मञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताको रूपमा मन्तव्य राख्नेछन्।
बेइजिङ बसाइँका क्रममा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत अन्य शीर्ष चिनियाँ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको डा. खतिवडाले बताए।
पाँच दिवसीय भ्रमण सम्पन्न गरी नेता खनाल असार २७ गते (जुलाई ११) स्वदेश फर्कने कार्यक्रम रहेको उनको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।