
जनकपुर- मधेश प्रदेशसभाको आज (आइतबार) बसेको बैठक स्थगित भएको छ। जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले सभा बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।
जसपा नेपालका रामअशीष यादवले सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको दाबी गरे। उनले मुख्यमन्त्री सिंहको बुवाले २० वर्षअघि बनाएको भवनको भुक्तानी गर्ने गरी बजेट ल्याइएको, डीपीआरमा करोडौँ रकम विनियोजन गरिएको भन्दै असहमति जनाए।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिस पटेलले बजेट असमान रहेको बताए। उनले सदनमा रहेका विपक्षी दल मात्र नभई सत्तापक्ष र सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्षसमेतले बजेटको विरोध जनाइसकेको बताए।
नेकपा (माओवादी केन्द्र)का उपनेता युवराज भट्टराईले बजेट पुनःलेखनको माग गरे। प्रमुख प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरे।