कांग्रेस बैठक : उठ्यो पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय

हिमाल प्रेस २२ असार २०८२ १९:१५
50
SHARES
कांग्रेस बैठक : उठ्यो पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरुले समयसीमाभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने र त्यसका लागि क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका हुन्।

जारी बैठकमा विभिन्न भातृसंगठन, महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भइरहेको कांग्रेसले जनाएको छ। बैठकमा वडातहदेखि केन्द्रसम्मका अधिवेशनलाई समयमा नै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्ने सुझाव आएको बताइएको छ।

त्यस्तै बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले संवैधानिक नियुिक्तका विषयमा सर्वोच्चको फैसला, पूर्वराष्ट्रपति राजनीतिमा फर्कने विषय लगायतका विषयमा धारणा राखेका छन्।

आइतबारको बैठकमा पूर्वसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने विषय उठाएका थिए।

उनले पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई कांग्रेसले नोटिसमा राख्नुपर्ने बताए। पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय पार्टी विशेषको मात्र नभई प्रणालीसँग पनि जोडिने उनको भनाइ थियो।
एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धाको विषय भए पनि यो प्रणालीसँग सम्बन्धित विषय रहेको उनले बताए।

‘सभापतिजी, रिटायर्ड राष्ट्रपति राजनीतिमा फर्किने विषय आएको छ अहिले। एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला। तर मेरो बुझाइमा यो कुनै एउटा पार्टीको आन्तरिक विषयमात्रै होइन। यो प्रणालीसँग सम्बन्धित विषय हो। हामीले जुन प्रणाली ल्याएका छौँ, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त खुसी लाग्छ एमाले विभाजित हुन्छ कि टुक्राटुक्रा हुन्छ कि, त्यो फरक विषय हो। तर सिस्टमबारे कांग्रेसले यो नोटिसमा लिनुपर्छ,’ उनले भने।

त्यस्तै सदस्यहरुले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिएका छन्। केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रममा जारी रहेकाले बैठक सोमबार पनि बस्ने नेताहरुले जनाएका छन्।

प्रकाशित: २२ असार २०८२ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast