
काठमाडौँ– छिन्नलता गीत पुरस्कार गुठीले गीत संगीतका विभिन्न सर्जकहरूलाई छिन्नलता गीत पुरस्कार प्रदान गरेको छ।
वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको १०३ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीत संगीतका विभिन्न सर्जकहरूलाई ४३ औँ छिन्नलता पुरस्कार प्रदान गरेको हो।
कार्यक्रममा सभामुख देवराज घिमिरेले गीत रचनातर्फ गीतकार राजेन्द्र रिजाल, संगीततर्फ आभास (अच्युत प्रसाद फुयाँल) तथा गायनतर्फ इतु जोजिजू र रामभक्त जोजिजूलाई छिन्नलता गीत पुरस्कार प्रदान गरे।
कार्यक्रममा सभामुख घिमिरेले गीत संगीतका माध्यमबाट नेपाली समाजलाई एकतावद्ध गर्न मद्त पुगेको बताए। त्यस्तै सर्जकहरुले गीत संगीतका माध्यमबाट राष्ट्र निर्माणमा गरेको योगदान महत्वपूर्ण रहेको उनले बताए।
त्यसैगरी युवा प्रतिभा पुरस्कार एस.डी. योगीलाई प्रदान गरिएको थियो। छिन्नलता गीत पुरस्कारको राशि एक लाख रुपैयाँ तथा युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।