
काठमाडौँ– अमेरिकाको टेक्सस राज्यमा एक्कासी आएको बाढीले ५१ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा १५ जना बालबालिका रहेका छन्।
टेक्सस प्रशासनले राहत तथा उद्धार कार्यका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र उद्धारकर्मी परिचालन गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार बाढीबाट सबैभन्दा बढी काउन्टी क्षेत्र प्रभावित भएको र यहाँ ४३ जनाको ज्यान गएको छ। त्यस्तै ग्वाडालुप नदी किनारमा रहेको एक इसाई युवा शिविरबाट २७ किशोरीहरू वेपत्ता भएका छन्।
टेक्ससका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले वेपत्ता भएका ती २७ किशोरीहरूमध्ये धेरैजसो १२ वर्ष मुनिका रहेको बताएका छन्।
वेपत्ता भएका सबै व्यक्ति नभेटिएसम्म बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार कार्य नरोकिने केर काउन्टीका शेरिफ लेरी एल.लिथाले बताएका छन्।
हालसम्म बाढीबाट प्रभावित ८ सय जनालाई उद्धार गरिएको छ। टेक्ससको ट्र्याभिस काउन्टी र टम ग्रीन काउन्टीमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ। यो साताको अन्त्यसम्म बाढीको जोखिम यथावत रहेको भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन स्थानीय अधिकारीहरूसँग सहकार्य गर्दै समस्या हल गर्न प्रयासरत रहेको बताएका छन्। अमेरिकी मौसम विभागका अनुसार यो क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ, जसका कारण बाढीको थप जोखिम देखिएको छ।
राष्ट्रिय मौसम सेवा (एनडब्ल्यू एस) ले शनिबारसम्म ५ देखि १२ सेमीसम्म वर्षा हुने अनुमान गरेको छ। जबकी केही क्षेत्रमा २५ सेमीसम्म वर्षा हुनसक्ने सम्भावनासमेत रहेको अनुमान गरिएको छ।