रेशम-सीकेबीच ‘दरार’ : रोकियो नाउपा-जनमत एकता प्रक्रिया

धैर्यकान्त दत्त २२ असार २०८२ २१:१७
46
SHARES
रेशम-सीकेबीच ‘दरार’ : रोकियो नाउपा-जनमत एकता प्रक्रिया

काठमाडौँ- राष्ट्रियसभा गृहबाट अप्रत्यासित रूपमा रेशम चौधरी पक्राउ नपरेको भए यतिबेला नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी एउटै भइसकेका हुन्थे। दुवै पार्टीबीच एकता घोषणा हुन केही मिनेटमात्रै बाँकी छँदा वैशाख १७ गते कार्यक्रमस्थल राष्ट्रियसभा गृहबाट नाउपाका संरक्षक रेशम पक्राउ परेका थिए। त्यसपछि जनमत पार्टीसँगको एकीकरण प्रक्रिया भाँडियो। पक्राउ परेको केही घण्टामै रेशम रिहा भए।

त्यो घटनापछि नाउपा र जनमत पार्टीबीच एकीकरणबारे छलफल भएको छैन। बरु दुवै दलका नेताबीच संवादहीनताको अवस्था सिर्जना भइसकेको छ। नेताहरू पनि नाउपा र जनमतबीचको एकीकरण धेरै टाढाको विषय बनिसकेको बताउँछन्। राजनीतिलाई सम्भावनाको खेल भन्दै दुवै दलका नेता एकीकरणको विषयमा कुरा गर्न चाहँदैनन्।

पार्टी एकीकरण घोषणा गर्न भनेर एउटै मञ्चमा उभिएका नाउपाका संरक्षक रेशम र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच दूरी बढेको छ नै, दुुवै नेताको सम्बन्ध ‘खटपट’ मा परिणत भएको छ। यतिबेला रेशम-सीकेबीच दूरी बढाइदिएको छ, आगामी कात्तिक १७ हुने रूपन्देही-३ को उपनिर्वाचनले। अघिल्लो निर्वाचन परिणामका आधारमा रूपन्देही-३ मा नाउपाले आफ्नो उम्मेदवार दिने बताइरहँदा जनमतका अध्यक्ष सीकेले पनि आफ्नो पार्टीबाट उम्मेदवार दिने अडान लिएका छन्। एकताको नजिक पुगिसकेका दुवै पार्टीबीच रूपन्देहीको उपनिर्वाचनले झनै फाटो बढाइदिएको हो।

रेशम र सीकेबीच बढेको दूरीका कारण उनीहरू नेतृत्वको दुवै दल केही अघिमात्रै बनेको संघीय लोकतान्त्रिक मोर्चामा सँगै बस्ने स्थितिमा समेत छैनन्। रेशम पक्राउ पर्नुमा जनमत अध्यक्ष सीकेको ‘डिजाइन’ भएको नाउपाका नेताहरूको आशंका छ। रेशम पक्राउ पर्नुअघि सीकेले सामाजिक सञ्जालमा राखेका धारणाका कारण पनि नाउपाका नेताहरू सशंकित बनेका हुन्।

सीकले एकता रोक्नका लागि ठूलो षड्यन्त्र भइरहेको भन्दै उनले रेशम चौधरीलाई गिरफ्तार र आफूलाई ज्यानमार्नेसम्मको धम्की आएको लेखेका थिए। सीकेमाथि आक्रमण त भएन तर रेशम पक्राउ परे। यसैलाई लिएर नाउपाका नेताहरू सीकेप्रति सशंकित बनेका छन्। सबै कुरा थाहा हुँदाहुँदै सीकेले छलफल नगरेको भन्दै उनीमाथि शंका गर्ने ठाउँ रहेको नाउपाका नेताहरूको भनाइ छ।

नाउपाका संरक्षक चौधरी जनमत पार्टीबाहेकको समर्थनमा रूपन्देही उपनिर्वाचनमा आफ्नो पार्टीबाट साझा उम्मेदवार दिने बताउँछन्। ‘नाउपाका तर्फबाट साझा उम्मेदवार दिनुपर्छ भन्नेमा मोर्चामा आबद्ध सातमध्ये ६ दलको सहमति छ,’ चौधरीले हिमालप्रेससँग भने, ‘रूपन्देहीमा नाउपाको उम्मेदवार हुनुपर्छ भनेर ६ दलले स्वीकार गरेका छन्। जनमत पार्टीबाहेकको समर्थनमा त्यहाँ हाम्रो साझा उम्मेदवार हुन्छ।’

रूपन्देही उपनिर्वाचनमा जनमतले आफ्नो उम्मेदवार खडा गर्ने लगभग निश्चित छ। पछिल्लो समय बसेको मोर्चाका बैठकमा जनमत पार्टीका प्रतिनिधिहरूले रूपन्देही उपनिर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिने प्रस्ट पारेका हुन्। उपनिर्वाचनमा उम्मेदवारी दिने विषयमा लिएका अडानका कारण दुवै दलबीचको एकीकरण प्रक्रिया भाँडिएको प्रस्ट देखिन्छ। नाउपाका संरक्षक रेशमले मोर्चाका तर्फबाट साझा उम्मेदवार दिने विषयमा जनमत पार्टी सहमत नहुनुमा उसको आफ्नो बुझाइ हुनसक्ने बताए।

‘चुनावमा आफ्नो दलको उम्मेदवार खडा गर्नु सबैको स्वतन्त्रता हुन्छ। हामीले साझा उम्मेदवार दिऊँ भनेका हौँ,’ उनले भने, ‘जनमत तयार छैन भने यो उसको बुझाइ होला। तर नाउपाले जनमतबाहेकका दलको समर्थनमा साझा उम्मेदवार दिन्छ पक्का हो।’

नाउपाका संरक्षक रेशमले जनमत पार्टीसँगको एकीकरण प्रक्रियाबारे खुलेर बोलेनन्। उनले भने, ‘अहिले एकीकरण प्रक्रिया रोकिएको छ। उहाँहरू हाम्रो दुस्मन होइन। आवश्यकता भएपछि फेरि यो कुरा उठ्ला। राजनीति सम्भावनाको खेल हो।’

संघीय लोकतान्त्रिक मोर्चामा नाउपा र जनमतसहित सात मधेश केन्द्रित राजनीतिक दलहरू सम्मलित छन्। नाउपाका संरक्षक रेशमको आह्वानमा असार १२ गते मोर्चाको बैठक बस्यो। बैठकमा रेशमको प्रस्ताव थियो- रूपन्देही उपनिर्वाचनमा नाउपालाई दिनेगरी मोर्चाका तर्फबाट साझा उम्मेदवार बनाऔँ।

मोर्चा आबद्ध अन्य दलहरू आफ्नो उल्लेख्य प्रभाव नरहेको रूपन्देही उपनिर्वाचनमा नाउपाका तर्फबाट साझा उम्मेदवार बनाउने रेशमको प्रस्तावमा सहमत भए।

२०७९ सालको निर्वाचनमा राप्रपा निर्वाचित भएको रूपन्देही-३ मा कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो र नाउपा चौथो बढी मत ल्याउने दल भएका थिए। समानुपातिकतर्फ पनि नाउपाले मोर्चामा आबद्ध अरू दलभन्दा बढी मत प्राप्त गरेको थियो।

यही आधार प्रस्तुत गर्दै मोर्चाको बैठकमा नाउपा संरक्षक रेशमले आफ्नो पार्टीका तर्फबाट साझा उम्मेदवार दिन प्रस्ताव गरेका थिए। बैठकमा सहभागी जनमतका उपाध्यक्ष अब्दुल खानले पनि सबै दलबीच सहमति भइसकेको छ भने ‘आजै टुंग्याऊँ’ भन्ने प्रस्ताव गरे। तर नेताहरूले असार १५ गते अर्को बैठक बसेर निर्णय गर्ने प्रस्ताव गरे।

असार १५ गते पुनः नाउपाका संरक्षक रेशमकै अध्यक्षतामा बसेको त्यो बैठकमा जनमतका नेताहरू ढिलो गरी पुगे। जनमतका नेता आउनुअगावै बैठकमा सहभागी मोर्चाका ६ दलका नेताहरूले नाउपाका तर्फबाट साझा उम्मेदवार दिने विषयमा सहमति जनाइसकेका थिए।

ढिलो गरी उपस्थित जनमतका नेताद्वय अब्दुल खान र शरदसिंह यादवले त्यो निर्णयमा सहमति जनाउँदै रूपन्देही-३ मा आफ्नो पार्टीका तर्फबाट छुट्टै उम्मेदवार दिने भनेर बैठकबाट बाहिरिए। नाउपाका तर्फबाट साझा उम्मेदवार बनाउने मोर्चाको प्रस्तावमा जनमतले ‘हलो अड्काए’ पछि रेशम-सीकेबीच ‘दरार’ उत्पन्न भएको छ नै, मोर्चाको भविष्यमाथि पनि संकट उत्पन्न भएको छ।

संघीय लोकतान्त्रिक मोर्चा कसैलाई चुनाव जिताउन वा नेता बनाउन नभएर संविधान संशोधनमा दबाब दिन बनेको भन्दै जनमत पार्टी रूपन्देही उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने प्रस्तावमा सहमत भएको छैन।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान रूपन्देही उपनिर्वाचनमा जनमत पार्टीले आफ्नो उम्मेदवार उठाउने बताए। उनले रूपन्देही उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार लडाउने निर्णय भइसकेको बताए। मोर्चाले के गर्छ भन्ने थाहा नभएको बताउँदै उनले जनमतको आफ्नै उम्मेदवार हुने उल्लेख गरे।

‘चुनावमा गठबन्धन गर्न मोर्चा बनेको होइन, कसैलाई चुनाव जिताउन वा नेता बनाउन मोर्चा बन्नु हुँदैन भनेर हामीले सुरुमै प्रस्ट पारिसकेका छौँ,’ उनले भने, ‘आज चुनावमा सँगै जाने कुरा जनमतलाई स्वीकार छैन। रूपन्देही उपनिर्वाचन जनमत एक्लै लड्छ।’

रूपन्देही उपनिर्वाचनको सन्दर्भमा देखिएको मतभेदले एकताका लागि कस्सिएका नाउपा र जनमतबीच पछि सौहार्द सम्बन्ध नरहेको प्रस्ट भएको छ। मोर्चामा आबद्ध ६ दल उपनिर्वाचनमा साझा उम्मेदवार दिनुपर्नेमा एकमत रहे पनि एक्लै लड्ने जनमतको अडानका कारण मोर्चाको आयु र नाउपा-जनमत एकता प्रक्रियामाथि शंका उत्पन्न भएको छ।

जनमतका उपाध्यक्ष खान भने निर्वाचनमा उम्मेदवार दिने विषयलाई लिएर मोर्चामा समस्या नआउने दाबी गर्छन्। नाउपासँगको एकताका सवालमा भने समस्या अहिले पनि रहेको उनले बताए।

‘संविधान संशोधनमा दबाब दिने मोर्चाको प्रस्ट उद्देश्य हो, चुनावमा भाग लिने दलको आफ्नो स्वतन्त्रता हो,’ उनले भने, ‘यही विषयलाई लिएर मोर्चामा समस्या आउला जस्तो मलाई लाग्दैन। जहाँसम्म नाउपासँगको एकताको कुरा हो, त्यसमा त अहिले पनि समस्या नै छ।’

उपाध्यक्ष खानले नाउपाका कारण एकता प्रक्रियामा समस्या आएको आरोप लगाए। नाउपाभित्रै समस्या रहेकाले एकता प्रक्रिया अगाडि नबढेको बताउँदै उनले साउनसम्म कुनै सम्भावना नरहेको जिकिर गरे।
‘पहिला त उहाँहरू प्रस्ट भएर आउनुप¥यो। रेशमजी र रञ्जिताजीबीच नै कुरा नमिलेको हामीले महसुस गरेका छौँ, दुवै जनाको सहमतिविना एकता सम्भव छैन,’ खानले भने, ‘अर्को साउनमा रेशमजीको पेसी पनि छ। त्यसैले साउनपछि मात्रै यो विषयमा छलफल अगाडि बढ्छ, तत्काल कुनै सम्भावना छैन।’

रूपन्देहीको उपनिर्वाचनलाई लिएर नाउपा र जनमत विपरीत ध्रुवमा उभिएका बेला मोर्चा आबद्ध दलहरू सहमति जुटाउन प्रयासरत छन्। एउटै मोर्चामा आबद्ध भएर छुट्टाछुट्टै चुनावमा जाँदा नकारात्मक सन्देश जाने भन्दै उनीहरू नाउपा र जनमतबीच सहमति जुटाउने प्रयासमा लागेका हुन्।

मोर्चामा आबद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्मा मोर्चासँग मधेशका जनताले ठूलो अपेक्षा राखेको र यसखाले खटपटले नाकारात्मक सन्देश जाने बताउँछन्।

रूपन्देही उपनिर्वाचनमा मोर्चाका तर्फबाट साझा उम्मेदवार बनाउने विषयमा अझै प्रयासहरू जारी रहेको उनले बताए। ‘साझा उम्मेदवार दिँदा पुराना दलहरूमाथि दबाब बढ्नुका साथै एकखाले सकारात्मक सन्देश जान्छ। जनमत र नाउपाबीच केही समस्या देखिएको छ। सहमति जुटाउने प्रयास भइरहेको छ,’ उनले भने।

महासचिव शर्माले मंगलबार मोर्चाको मूल समिति (अध्यक्ष तह) को बैठक बस्न गइरहेको र यो बैठकले रूपन्देही उपनिर्वाचनका सम्बन्धमा अन्तिम टुंगो लगाउने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast