शिक्षा समिति बैठक : टुंगिएका विषयहरूमा फेरि डोजर चलाइयो : रेखा शर्मा

हिमाल प्रेस २२ असार २०८२ १५:३७
924
SHARES
शिक्षा समिति बैठक : टुंगिएका विषयहरूमा फेरि डोजर चलाइयो : रेखा शर्मा रेखा शर्मा। फाइल तस्बिर।

काठमाडौँ- सिंहदरबारमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० टुंग्याउने भनिए पनि बैठक स्थगनको प्रस्ताव अघि आएपछि समिति सदस्य रेखा शर्माले आपत्ति जनाएकी छन्।

समितिका सभापति अम्मरबहादुर थापामाथि समन्वयविहीन ढंगमा बैठक सञ्चालन गरेको आरोप लगाउँदै शर्माले बैठक सुरु हुनुअघि नै स्थगन प्रस्ताव आउनु समितिको गरिमासँग असंगत भएको बताइन्।

‘सभापतिले बैठक बोलाउँदा हामी कुन ठाउँमा थियौं भनेर सोच्नुपथ्र्यो। कससँग परामर्श गरेर विधेयक टुंग्याउनुपर्छ भनेर जसरी पनि आउनुहोस् भन्नुभयो? कुन मुखले बोलाउनुभयो?’ शर्माको प्रश्न थियो।

उनले बैठक अघि कुनै स्पष्ट तयारी वा सल्लाह नभएको भन्दै विधेयक निर्माण प्रक्रिया अपारदर्शी र असन्तुलित भएको बताइन्। ‘बैठक सुरु नहुँदै स्थगन प्रस्ताव आउँछ। यसले के राम्रो सन्देश दिन्छ? हामी कस्तो कानुन बनाउँदैछौं भन्नेमा पनि सुनिश्चित हुन सक्दैनौं,’ शर्माले भनिन्।

शर्माले पहिले नै टुंगिएका विषयहरू पुनः उत्खनन र संशोधनमा लैजान खोजिएको बताउँदै यस्तो प्रवृत्तिले विधेयक प्रक्रिया नै कमजोर बनाउने बताइन्।

‘टुंगिएका विषयहरूमा फेरि डोजर चलाइँदैछ। यस्तो वातावरणमा कसरी सहज रूपमा ताली बजाएर विधेयक पारित गर्छौं?’ उनले असन्तुष्टि पोखिन्।

समिति सदस्यहरूले आफ्ना धारणा राख्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने माग गर्दै शिक्षा विधेयकजस्तो महत्वपूर्ण दस्तावेजमा परिपक्व र पारदर्शी छलफल आवश्यक भएको बताइन्।

प्रकाशित: २२ असार २०८२ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast