
बुटवल- बुटवल उपमहानगरपालिका-१२ सतगढीमा बस्तीलाई नै जोखिममा पारेर अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ। बुटवल-गोरुसिङे सडक खण्ड विस्तार गर्नका लागि भन्दै निर्माण व्यवसायीले शनिबार बेलुका ४ बजेदेखि सतगढीमा पुल निर्माण स्थलभन्दा करिब दुई सय मिटर उत्तरतर्फ खोलामा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो।
खोलाको दुवै साइडमा बस्ती रहेको र असार सकिने बेला डोजर ल्याएर धमाधम नदीजन्य पदार्थ निकालेपछि स्थानीयहरूले विरोध गरेपछि घटना बाहिरिएको छ।
स्थानीय टोल विकास संस्थाका व्यक्तिहरूले प्रहरीलाई खबर गरेपछि डोजर र टिप्परलाई नयाँ प्रहरी चौकीमा राखिएको छ। प्रहरीले खोलाबाट एकवटा डोजर र बा प्र ०६-०० १ क ०३१४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले स्थानीय बासिन्दाले गुनासो गरेपछि प्रहरी पुगेर स्काभेटर, टिप्पर नियन्त्रणमा लिएको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
गणेश टोल विकास संस्थाका अध्यक्ष बेतकुमारी वाग्ले (सीता) ले सतगढी र गणेशटोलको मध्यभागमा रहेको खोलाबाट खुलेयाम विना जानकारी नदीजन्यपदार्थ टिप्परका टिप्पर लगेपछि आफूहरूले रोक लगाएको बताइन्। उनले भनिन्, ‘शनिबार १५ टिप्पर र आइतबार बिहान पनि ५/७ टिप्पर गरी २० टिप्परभन्दा बढी नदीजन्य पदार्थ खोलाबाट निकालिएको छ।’ वाग्लेले आफूहरूले रोक लगाउँदा पुल निर्माणका लागि निकालिएको भनेर आयोजनाका व्यक्ति भागेको बताइन्।
स्थानीय बुद्धिजीवी मीनबहादुर पुनले दुवैतर्फ बस्ती रहेको ठाउँमा असारका बेलामा डोजर आएर धमाधम उत्खनन गरेकाले आफूहरूले प्रहरीलाई खबर गरेको बताए। उनले बस्तीलाई नै खतरामा पार्ने गरी जेसीबी चलाएपछि आफूहरूले रोक लगाएको बताए। ‘बस्ती नै जोखिममा पार्ने गरी असारमा उत्खनन भएकाले रोक्यौं, निर्माण कम्पनीका म्यानेजर भानु जोशी आउनुभएको थियो। मिल्छ भन्नुभयो, कागजपत्र वा केही प्रमाण छ भनेपछि निस्कनुभयो’, उनले भने।
पुनले आयोजनाको नाममा अवैध उत्खनन गरेर बस्तीमा बाढीको जोखिम गराउन नपाउने भन्दै कारबाहीको माग गरेका छन्। आशीष निर्माण सेवा नेपाल जेभीले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरेर डम्पिङ गर्ने गरेका छन्। पुलको फिलिङ गर्ने भनेर भने पनि त्यहाँबाट निकालिएको नदीजन्य पदार्थ करिब तीन सय मिटर पूर्वमा रहेको साइडमा डम्पिङ गर्ने गरिएको छ।
बुटवल चन्द्रौटा सडक विस्तार आयोजन कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले आयोजनाका नाममा दुई सय मिटर परसम्म गएर उत्खनन गर्न नपाउने भन्दै घटनाबारे निर्माण कम्पनीसँग जानकारी माग गर्ने बताइन्।
बुटवल गोरुसिङे सडक विस्तारका क्रममा अहिले निर्माण कम्पनी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशीष निर्माण सेवा नेपाल जेभीले पुल निर्माण गरिरहेको छ। सतगढी पुल न. २ को कामका लागि भन्दै नदीजन्य पदार्थ निकालेको निर्माण पक्षले बताएको छ। गोरुसिङ-चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि अहिले पुल निर्माण भइरहेको छ।