
काठमाडौँ- फिल्म ‘मिरमिरे’को छायांकन भइरहेको छ। निर्माण टिमलेले शनिबारदेखि पनौती नगरपालिकाको बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन सुरू गरेको छ।
फिल्मका निर्देशक यम शेर्पा हुन्। उनकाअनुसार काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा फिल्मको छायांकन गरिनेछ। फिल्म आलोक शुक्लाले छायांकन गरिरहेका छन्।
फिल्मको कथा पनि निर्देशक शेर्पाले नै लेखेका छन्। फिल्मकाे मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु रहनेछन्। साथै कलाकार माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र बाल कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायतको अभिनय रहनेछ।
यही फिल्मबाट गायक कथा कलाकार प्रकाश सपुत र अभिनेता दयाहाङ राई को पहिलो सहकार्य हुँदैछ। निर्देशक शेर्पाले दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनको पहिलो निर्देशित फिल्म ‘कार्साङ’ को मुख्य भूमिकामा अभिनेता राई नै थिए।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ जोडिएका छन्।
फिल्म यहीवर्ष प्रदर्शन गर्ने टिमको तयारी छ।