
काठमाडौँ- प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएपछि नेपाली कांग्रेस असन्तुष्ट भएको छ। आइतबारका लागि डाकिएको बैठक ओलीले स्थगित गर्न निर्देशन दिएका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कुलपतिले सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद नभएको बताए।
‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यस बेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोक्किनु शोभनीय विषय होइन’, महरले पार्टी कार्यालयमा आइतबार पत्रकारहरूसँग भने।
विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनुपर्ने उनको धारणा छ। ‘विद्यालय शिक्षा ऐन लामो समयदेखि बहसमा छ। १५ असारभित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिबद्धता पूरा भएको छैन। सरकार र संसद्ले कानुन बनाउने काममा खासै सफता हात पार्न सकेको छैन। यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्नेछ’, महरले भने।
बैठक त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको थियो। ‘प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ। प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ। परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाइनुपर्छ’, उनले भने।
त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ। प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो।
त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो। सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। सभामा सहभागी हुन उपत्यकाबाहिरका सभासद् काठमाडौँ आइसकेका थिए।
प्रधानमन्त्री ओली भने त्रिविको सिनेट बैठक स्थगित गरेर आइतबार पुल उद्घाटन गर्न हुम्ला जाने भएका छन्।