
इटहरी- भोजपुरमा एकै परिवारका चारजनाको सामूहिक हत्या भएको छ। जिल्लाको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एकै परिवारका चारजनाको सामूहिक हत्या भएको हो।
भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३५ वर्षीय राजेन्द्र राई आफ्नी श्रीमती मनीषा गिरीलाई लिन ससुराली पुगेका थिए । तर, पारिवारिक विवादका कारण घटनाले ज्यानै लिने अवस्था बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
राईले आफ्नी श्रीमती मनीषा गिरी, ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सपन गिरीको हत्या गरेका हुन्। हत्याअघि भएको विवादका क्रममा सासू मञ्जु गिरीले छुरा प्रहार गरेको दाबी गर्दै राजेन्द्रले आफू आक्रोशमा आएर सबैको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।
प्रहरीले घटनास्थलबाट हतियारसमेत बरामद गरेको छ। चारै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। घटनामा राई घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ। स्थानीय आनन्द भुजेलका अनुसार घटना गएराति भएको हो । उक्त घटनाका कारण गाउँ नै भावविह्लल बनेको छ। ‘ससुराली आएका राजेन्द्रले परिवारकै हत्या गरेको खुलेको छ। यो घटनाले गाउँलाई विक्षिप्त मात्रै होइन, त्रास पनि फैलाएको छ,’ भुजेलले हिमाल प्रेससँग फोन सम्पर्कमा भने। उक्त गाउँ साबिक धोद्लेखानी गाविस- ७ मा पर्छ।