धरानका मेयर हर्क साम्पाङको श्रमदानमा सहभागी वडाध्यक्षलाई एमालेको कारबाही सिफारिस

हिमाल प्रेस २१ असार २०८२ २१:४९
50
SHARES
धरानका मेयर हर्क साम्पाङको श्रमदानमा सहभागी वडाध्यक्षलाई एमालेको कारबाही सिफारिस

इटहरी– धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईलाई पार्टी हितविपरीत कार्य गरेको आरोप लगाउँदै नेकपा (एमाले) धरानले कारबाही गर्न सिफारिस गरेको छ।

एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार वडाध्यक्ष राईले पार्टीको निर्देशनविपरीत कार्य गर्दै आएको, कार्यपालिका बैठकमा निरन्तर अनुपस्थित हुने, पार्टीले आह्वान गरेको बैठकमा नआउने लगायतका गतिविधि दोहोर्‍याउँदै आएको भन्दै जिल्ला कमिटी समक्ष कारबाहीको सिफारिस गरेको हो।

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष राई पछिल्लो समय धरानका मेयर हर्क साम्पाङद्वारा सञ्चालन गरिएको श्रमदान कार्यक्रममा देखिएका थिए।

पार्टीका नेताहरूले बारम्बार सम्झाइरहँदासमेत अटेरी गर्दै आएको, तीनपटक स्पष्टीकरण माग्दा पनि चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टीले कारबाहीको सिफारिस गरेको बताइएको छ।

एमाले सुनसरी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवले कारबाहीको सिफारिस गरिएपछि वडाध्यक्ष राईलाई पार्टी कार्यालयमा बोलाएर औपचारिक कारबाही प्रक्रिया अगाडि बढाइने बताए।

एमालेले वडाध्यक्ष राईलाई कारबाहीको सिफारिस गरेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको नियत र कार्यशैली कस्तो र कति तल्लो स्तरको हुँदो रैछ भन्ने बुझ्न वडा नं. ४ को अध्यक्षको कुरा सुन्दा हुन्छ है!’

प्रकाशित: २१ असार २०८२ २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast