दलाई लामाले आफू अझै ३०-४० वर्ष बाँच्छु भनेपछि अनुयायीहरू उत्साहित

हिमाल प्रेस २१ असार २०८२ १७:४४
10
SHARES
दलाई लामाले आफू अझै ३०-४० वर्ष बाँच्छु भनेपछि अनुयायीहरू उत्साहित भारतको उत्तरी पहाडी सहर धर्मशालामा आयोजित दीर्घायु प्रार्थनासभामा सहभागी आध्यात्मिक गुरु दलाई लामा। तस्बिर साभार : रोयटर्स

काठमाडौँ– तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफू अझ ३० देखि ४० वर्षसम्म जीवित रहने आशा व्यक्त गरेपछि उनका अनुयायीहरू उत्साहित बनेका छन्।
आइतबार ९०औँ जन्मदिन मनाउनुअघि शनिबार भारतको धर्मशालामा आयोजित दीर्घायु प्रार्थना समारोहमा उनले आफू १३० वर्षभन्दा बढी बाँच्ने अपेक्षा व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि उनले एउटा अन्तर्वार्तामा आफू ११० वर्षसम्म बाँच्न सक्ने बताएका थिए।

प्रार्थनासभामा लामाले भने, ‘मैले अहिलेसम्म बौद्ध धर्म (बुद्धका शिक्षाहरू) र तिब्बती प्राणीहरूको राम्रो सेवा गर्न सकेको छु। अझै पनि म १३० वर्षभन्दा बढी बाँच्ने आशा राख्छु।’

नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले मृत्युपछि पनि आफू तिब्बती बौद्ध धर्मको आध्यात्मिक नेतृत्वलाई पुनर्जन्ममार्फत निरन्तरता दिने विश्वास दोहोर्‍याएका छन्।

प्रत्येक दिन सबै प्राणीको कल्याणका लागि प्रार्थना गर्ने दलाई लामाले आफूलाई तिब्बती संरक्षक देवी अवलोकितेश्वरबाट आशिष प्राप्त भएको अनुभव रहेको समेत बताए।

चीन भने दलाई लामाको उत्तराधिकारी चयन गर्ने अधिकार आफूसँग रहेको अडानमा छ।

१४औँ दलाई लामा उनी हालसम्मकै सबैभन्दा दीर्घायु तिब्बती बौद्ध धर्मगुरु हुन्। उनी दीर्घायु प्रार्थनामा करिब ९० मिनेटसम्म सहभागी भएका थिए।

समारोह भारतको उत्तरी पहाडी सहर धर्मशालास्थित उनको गुम्बामा सम्पन्न भयो। उनी त्यहाँ सन् १९५९ मा चीनविरुद्धको असफल विद्रोपछिको निर्वासन जीवनयता बसोबास गर्दै आएका छन्।

दलाई लामाले तिब्बती भाषामा सम्बोधन गर्दै भने, ‘हामीले आफ्नो देश गुमाएका छौँ र भारतमा निर्वासित जीवन बिताइरहेका छौँ तर मैले प्राणीहरूको धेरै सेवा गर्न सकेको छु। त्यसैले धर्मशालामा बस्दाबस्दै सकेसम्म प्राणीहरू र धर्मको सेवा गर्ने मेरो अभिप्राय छ।’

उनको उक्त भनाइलाई अंग्रेजी र अन्य भाषामा एकैसाथ अनुवाद गरिएको थियो।

चीनले तिब्बतमाथिको आफ्नो नियन्त्रण सुदृढ बनाउन दलाई लामालाई पृथकतावादीका रूपमा हेर्दै आएको छ। बेइजिङले दलाई लामाको उत्तराधिकारीको मान्यता उसकै नेतृत्वले गर्नुपर्ने अडान राखेको छ। त्यसलाई साम्राज्यकालीन परम्पराको निरन्तरता भएको बताइन्छ।

दलाई लामाले यसअघि नै भनेका छन्– उनी चीनबाहिरको ‘स्वतन्त्र विश्व’ मा पुनर्जन्म लिनेछन्। यसै साता आफ्ना अनुयायीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो पुनर्जन्मको पहिचान गर्ने एकमात्र अधिकार मेरो गैरनाफामूलक संस्था ‘गदेन फोद्राङ ट्रस्ट’ मा निहित छ।’

दलाई लामा चर्चित व्यक्तित्व हुन्, उनका अनुयायी विश्वभर छरिएर रहेका करोडौँ तिब्बती बौद्ध धर्मावलम्बीमा मात्र सीमित छैनन्।

सन् १९८९ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। नोबेल समितिका अनुसार उनले तिब्बतको वास्तविक स्वायत्तताका माग गर्दै अहिंसात्मक ढंगले संघर्ष गरेकामा सम्मान गरिएको थियो।

शनिबार आयोजित दीर्घायु प्रार्थनामा दलाई लामा बुद्धको विशाल मूर्तिको अगाडि सिंहासनमा बसेका थिए। उनका अगाडि दर्जनौँ भिक्षुहरू आसनमा थिए। मुख्य मन्दिर परिसरमा उनका अनुयायी र पत्रकारहरूको घुइँचो लागेको थियो।

आइतबार हुने उनको ९०औँ जन्मदिन समारोहमा भारतका वरिष्ठ मन्त्रीहरू, अमेरिकाबाट कूटनीतिज्ञहरू र हजारौँ भक्तजनको उपस्थिति रहनेछ।

दलाई लामा लाखौँ तिब्बती बौद्ध धर्मावलम्बीका लागि देवतातुल्य पूजनीय छन्। उनी विश्वभर शान्ति, आध्यात्मिकता र तिब्बतको स्वायत्तताको लागि दृढ आवाजका रूपमा परिचित छन्। चीनका लागि उनी एक खतरनाक पात्रका रूपमा हेरिन्छन् किनभने चीनले उनलाई तिब्बतलाई बेइजिङको नियन्त्रणबाट छुट्याउने प्रयास गरिरहेको आरोप लगाउँदै आएको छ।

तिब्बती बौद्धहरूको आध्यात्मिक तथा राजनीतिक नेता भएका दलाई लामाले सन् १९५९ मा तिब्बतबाट निर्वासित भएपछि भारतको धर्मशालामा निर्वासित सरकार स्थापना गरे। त्यसयता उनले तिब्बत र तिब्बतीहरूका मुद्दा उठाउन संसारभर यात्रा गरेर अहिंसाको सन्देश फैलाएका छन्।

उनले नोबेल शान्ति पुरस्कार विजेता नेल्सन मन्डेला र डेसमन्ड टुटुदेखि लिएर अमेरिकाका राष्ट्रपतिहरू, पोपहरू र हलिउडका चर्चित कलाकारहरूसम्म भेटघाट गरेका छन्।

प्रकाशित: २१ असार २०८२ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast