
काठमाडौँ– प्रहरीले पक्राउ पुर्जी जारी भएको जनता समाजवादी पार्टी (जसपा) मधेश अध्यक्ष अशोक यादवका पुराना मुद्दाहरूको फेहरिस्त सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले पछिल्लो समय अपराधी उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएको प्रदेश अध्यक्ष यादवका पुराना मुद्दाहरूको विवरण सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज राई चढ्ने गाडीमा तोडफोड र एसपी योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग गरेर धम्की दिएपछि पछिल्लो समय उनीविरूद्ध आपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।
सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नियन्त्रणमा लिन प्रहरीले उनको खोजी गरिरहेको छ। सर्लाही प्रहरीका प्रवक्ता डीएसपी राईले यादवको खोजी भइरहेको बताए।
‘अहिलेसम्म पक्राउ पर्नु भएको छैन, खोजी कार्य जारी छ,’ राईले भने। यादवलाई पक्राउ गर्न अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो। त्यसयता उनी ‘सम्पर्कविहीन’ भएको प्रहरीको भनाइ छ।
दुई दिनअघि पूर्वाधार कार्यालय मलंगवामा राति साढे ८ बजेतिर प्रहरीको निगरानीमा चेक काटेको विषयमा एसपी खड्का र अध्यक्ष यादवबीच विवाद चर्किएको थियो।
पूर्वप्रदेश सांसदसमेत रहेका जसपाका प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई ‘एए एसपी सुन, सुन…मधेशमा कमिसन खान आएको’ भन्ने अडियो सार्वजनिक भएको थियो।
एसपी खड्कासँग भएको विवादपछि बिहीबार राति यादवलाई नियन्त्रणमा लिन पुगेको डीएसपी राईसहितको प्रहरी टोलीमाथि ढुंगामुढा भएको प्रहरीको भनाइ छ। डीएसपी राईले आफूहरूमाथि नियोजित रूपमा ढुंगामुढा भएको बताए। ढुंगामुढामा आफू चढ्ने गाडीमा क्षति पुगेको उनको भनाइ छ।
पछिल्लो घटनामा यादवलाई पक्राउ गर्न खोजी गरिरहेको प्रहरीले यसअघि उनीमाथि दर्ता भएका विभिन्न मुद्दाहरूको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अध्यक्ष यादवमाथि यसअघि ज्यान मार्ने उद्योगका साथै अभद्र व्यवहार र चोरीलगायतका मुद्दा दर्ता भएका छन्।
उनीमाथि चोरीसम्बन्धी एक, अभद्र व्यवहारसम्बन्धी पाँच र ज्यानमार्ने उद्योगसम्बन्धी एक मुद्दा यसअघि दर्ता भएको प्रहरीले जनाएको छ। यो मुद्दामा उनी अदालतमा उपस्थित भए नभएको बारे आइतबार अदालतबाट जानकारी प्राप्त हुने डीएसपी राईले बताए।
तत्कालीन चक्रघट्टा गाविस–७ मा जग्गा विवादमा राजनारायण रायको जाहेरीले उनीमाथि ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ।
त्यस्तै २०५७/९/८ मा नथुनी साहको जाहेरीमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको थियो। मिति २०६६/०६/१० गते जिल्ला शिक्षा कार्यालयका लेखापालको साथबाट एक लाख ५० हजार खोसेको आरोपमा उनीमाथि चोरीसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ।
२०७२/९/५ गते जिल्ला प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा प्रवेश गरी कम्प्युटर तोडफोड गरी क्षति पुर्याएको भन्दै यादवमाथि अभद्र मुद्दा चलेको डीएसपी राईले बताएका छन्।
यस्तै २०७३/०४/१३ गते सिँचाइ कार्यालयमा प्रवेश गरी कर्मचारीहरूलाई धाकधम्की दिएको आरोपमासमेत उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ। ड्युटीमा खटिएका प्रहरी टोलीमाथि चेकजाँच गर्ने क्रममा गालीगलौज तथा हातपात गरेको आरोपमा २०७३/०८/२९ मा उनीमाथि अभद्र व्यवहार मुद्दा चलेको प्रहरीले जनाएको छ।