नेपाल माताले आँटेकै हो त?

विद्याले राजनीति गर्न हुँदैन भन्ने त होइन तर किन? फरक के?

श्रवण शर्मा २२ असार २०८२ १४:५४
466
SHARES
नेपाल माताले आँटेकै हो त?

कसरी बानी विश्वासमा, विश्वासहरू भ्रममा पुग्छन् र भ्रमले गलत व्याख्या प्रोत्साहित गर्छ भन्ने कथाबाट यो आलेख सुरु गर्दै छु। कथा सत्य हो-होइन, म जान्दिनँ। सत्य-असत्य जे भए पनि यसले बानी, विश्वास र भ्रमबीचका वस्तुपरक अन्तरसम्बन्ध दर्शाउँछ। छोरो भेट्न नेपालबाट जापानको टोकियो सहर पुगेका पण्डितबाजेलाई हिँड्दाहिँड्दै सडकमै पिसाबले च्याप्छ र सडक छेउको बुटामा छलिएर बूढा टुसुक्क बस्छन्।  ‘आSS जापान त आइयो जनै कानमा नसिउरी सुइँक्याइदिन्छु’ सोचेर बूढा टुक्रुक्क बस्छन्।

अलिक परबाट प्रहरी वा कसैले सिठी फुकेको आवाज सुन्छन्। सिठीको आवाज सुनेर बूढा आत्तिए, ‘हैट् परदेश भनेर हुन्छ, कानमा जनै नसिउरेको त प्रहरीले थाहा पाइहालेछ, झन्नै बित्याँस परेको!’ उनको विश्वासले भन्छ, जापान होस् वा नेपालमा पिसाब फेर्दा बाहुनले कानमा जनै सिउरिनैपर्छ। यो कथा सप्रसंग छ र आउने अनुच्छेदमा यसका व्याख्या क्रमशः खुल्दै जानेछन्।

राजनीतिक बजारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा जारी छ। चर्चाको परिधिमा उनको राजनीतिक पुनरागमन वैधानिक, नैतिक वा सम्मानित हो, होइन? भन्ने तर्कहरू आफ्नै रणनीतिक अपेक्षाका सूत्रीय व्याख्यामा आधारित छन्। विद्याले अब राजनीति गर्नै हुँदैन? विद्वत् बजारका एकथरी विश्लेषकहरू पूर्वराष्ट्रपति अब राजनीतिमा आउनै हुँदैन, आएका खण्डमा राजनीतिक पद्धति, व्यवस्था र संवैधानिक प्रणालीसहितको गणतन्त्र लडखडाउँछ भन्छन्। उनले पूर्वराष्ट्रपतिको सम्मानित गरिमा कायम राख्नुपर्छ, त्यसैले यो जारी व्यवस्था बलियो बन्छ उनीहरूको तर्क छ।

यसको ठीक विपरीत अन्य कतिपय विद्वत् शिरोमणिहरू विद्या राजनीतिमा आउनैपर्छ र प्रलय ल्याउन सक्ने खुबी उनमै विद्यमान छ, पूर्वराष्ट्रपति भएबापत उनको क्षमता दबाएर राखिरहन हुँदैन भन्ने बलशाली तर्क प्रस्तुत गरिरहेका छन्। यस कित्तामा उनी राष्ट्रपति हुँदाताकाका सल्लाहकार, सल्लाहकारहरूका पतीपत्नी, एमाले पार्टीभित्र उनको सान्निध्य प्राप्त कार्यकर्ताहरूको ठूलो उपस्थिति छ। यी दुवैखाले टिप्पणी सही नै छन् तर अपर्याप्त सही छन्। उनीहरूले उठाउनुपर्ने पेचिला मुद्दा वा विषयकेन्द्रित बहस अघि नसारी सान्निध्यले सिर्जना गरेका भावनापरक सम्बन्धहरूको आलोकमा सन्निकटता प्रदर्शन गरेका हुन्।

पदबाट बहिर्गमनपछि महिला वा पुरुष कोही पनि राजनीतिक पदको विधुवा वा विदुर हुँदैन। राजनीतिमा संलग्न हुने व्यक्तिका आकांक्षा स्वाधीन हुन्। समाज र राजनीतिको कसीले व्यक्तिका आकांक्षाको वस्तुनिष्ठ सत्य पर्गेल्छ। राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनु हुँदैन भन्नु र अमेरिका गइसकेको मान्छे धुवाँधुलो खान नेपाल फर्कनु हुँदैन भन्नु उस्तै हो। विद्यादेवी मजाले राजनीतिमा फर्कन हुन्छ। समाज, राजनीति र लेखकीय दायित्व के हो भने उनी किन राजनीतिमा फर्कन चाहिन्छन्, त्यो सोध्नुपर्छ। अब उनले राजनीतिमा लागू गर्ने रणनीतिक चाल के हुन्? ती चालको राजनीतिक गतिशीलता के हुनेछन्? उनीसँग कुनकुन चिज, समस्या वा संकट समाधानका सूत्र छन्? यी सवालको उत्तर पो खोज्नुपर्छ उनीसँग।

उनलाई म आफैँ गएर गर्न सक्छु भन्ने लागेका परिवर्तनका क्षेत्र कुन-कुन हुन्? उनको भाबी राजनीतिका एजेन्डा  के के हुन्? ती एजेन्डा कार्यान्वयन गर्ने उनको टिम कस्तो हुनेछ? आज भइरहेका उनले झलझली देखिरहेका गल्ती, कमी-कमजोरी के हुन्? राष्ट्रपतिको उच्च स्थानबाट उनले सरकार, प्रधानमन्त्री र केन्द्रीय प्रशासन कस्तो देखिन्?उनीहरूको राजकीय तटस्थता कस्तो पाइन्? वा राजनीतिक पक्षधरता लिन सकेनन् वा पक्षधरता देशको संकटका कारक हुन पुगेका हुन्? यसप्रति उनमा केकस्ता अवधारणा विकसित भएका छन? कुनकुन कुरा र शासकीय शैली परिवर्तनयोग्य छन्, कुनकुन बलियो गरी स्थापित र संस्थागत गर्नुपर्ने देखिन्छ? परिवर्तन गर्ने हो भने केमा कसरी, कसले र कहिले भन्ने कुरा पो उनलाई सोध्नु उचित हुन्छ।

प्रशासन र राजनीतिमा व्यक्तिका गुणस्तर र सत्तानिकटताबीचका सीमाभेदलाई कसरी तोड्नुहुन्छ? राजनीति, प्रशासन र उनका आफ्नै सल्लाहकारको गुणस्तर मापन गर्ने उनले निर्धारण गरेका मानक के के थिए? अब कस्ता मानकका आधारमा उनको राजनीतिक संयन्त्रले काम गर्दछ? सिद्धान्त र व्यवहारका बीच अनोन्याश्रित असहज सम्बन्ध संसारकै राजनीतिको एक चुनौती हो। बहुदलीय जनवाद र पण्डितजीको कानमा जनै बेर्नैपर्ने विश्वासमा हजार अन्तर छन्। तर हजार अन्तरलाई परास्त गर्ने एकै समानता छ, त्यो हो- दिग्भ्रम।

एमाले खाँट्टी बाहुनहरूको राजनीतिक संगठन हो। बाहुनहरू जान्दछन् पद्धतिले बाँधेका नियमहरू तोड्ने कला। पुरेतलाई जजमानका घरमा भात पकाउन अल्छी लाग्यो भने भन्छन्, ‘ए नानी! अलिकति घिउ हालेर चाम्रे बनाऊ चल्छ।’ आफ्नै संकट फुकाउन बाहुनले बनाएका यस्ता नियम राजनीतिमा पनि जब्बर ढंगले स्थापित गरिएका छन्। एमालेले बहुदलीय जनवादका नियम र मानक निर्धारण गर्दा नेताको अनुहार र आवश्यकता हेरेर गरिएको छ। त्यसैले बहुदलीय जनवादको सिद्धान्त घोटीघोटी पिए पनि काममा त्यसको परिणाम शून्य साबित भइरहेको छ।

राजनीतिमा ‘म नै राम्रो गर्न सक्छु’ भन्ने आत्मकेन्द्रित दृढताले नै मान्छेलाई नेता बनाउने हो। आफैँले राम्रो गर्न सक्छु भन्ने केपी ओलीको हठ राजनीतिक दृश्यपटमा अनौठो प्रहसन हुँदै होइन, स्वाभाविक हो। अस्वाभाविक के हो भने ओली आफूले गरेको नराम्रोको विवेचना आफैँ गर्न चाहन्छन्। अन्य विवेचकले गरेको विवेचना उनलाई उचित लाग्दैन होइन, त्यसको उनी विरोध नै गर्छन्। उनी ‘बडाले जो गर्‍यो हुन्छ त्यो सर्वसम्मत’ का सिद्धान्तकार नै हुन्। यो ओलीको मात्र समस्या पनि होइन, एमालेले स्थापित गरेका निजी मानकहरूको निरन्तरता हो।

विद्या राजनीतिमा आउँछिन् भने यी मानक फेरिन्छन् वा उनी फेरिएर यिनै मानक पछ्याउँछिन्? उनको राजनीतिमा आगमनको अर्थ त्यसले निर्धारण गर्दछ। होइन भने पूजामा सुपारी वा पित्तलको गणेश राख्नुमा खास अन्तर नभएझैँ, गणेशका रूपमा ओली बसिरहेको टपरीमा विद्यादेवी बस्न हुन्छ। पुज्नेहरूले पित्तल वा सुपारी जे भए पनि गणेश मानेर जनै चढाउँछन् रातो फूल अर्पण गर्छन्।

ओली विद्याको अन्तरंग राजनीतिक मित्रताको समय दशकौँ बितिसकेको छ। हदै असमझदारी भयो भने अलिकति योजनाबद्ध द्वन्द्व बजारका बिकाउ समाचार बनाइनेछन् र अन्तिममा समझदारी नै हुनेछ- पद सोपानको। ओलीलाई थाहा भइसकेको छ, प्रधानमन्त्री बनेर बदनामी कमाउनुभन्दा अरू केही लछारपाटो लाउन  सकिँदैन। पियनदेखि मुख्यसचिवसम्म, प्युठदेखि आईजीपीसम्म कसैले टेरपुच्छर लगाउँदैनन्।

यसकारण उडन्ते गफ गर्नु बाध्यता र रहर दुवै हुन् प्रधानमन्त्री ओलीका। अब उनलाई उमेर, समय, चुनौती र चेतनाले बिदा दिन खोजिहेको छ। यथार्थ ओकल्ने हो भने ओलीका लागि सरकार र पार्टी थाप्लामाथिको जाँतो हुन पुगेको छ। विद्यालाई दल सुम्पिएर आफू राजनीतिको परत्र सुधार्न राष्ट्रपतिको इच्छा राख्नु स्वास्थ्य, उमेर र आफ्ना आकांक्षाहरूको सारगर्भित सम्बोधन हुनेछ ओलीका लागि।

ओली विद्यालाई राजनीतिमा आउनबाट रोक्नै चाहन्छन् भने, एमालेको विधान महाधिवेशनले पूर्वराष्ट्रपतिलाई दलको सदस्यताबाट वञ्चित गर्ने नीति पास गर्न सक्छ। साँच्चै बजार चर्चाजस्तै ओली विद्याको राजनीतिक प्रतिस्पर्धा जटिल हुँदै गएको हो भने दलसम्बन्धी विधेयकमा पूर्वराष्ट्रपतिहरूलाई कुनै पनि पार्टी प्रवेश र प्रत्यक्ष राजनीतिमा प्रतिबन्ध लाग्न सक्ने सम्भावना पनि रहन्छ। स्वयंसिद्ध तथ्य हो ओलीको दिमाग धेरै चल्छ र त्यो अर्कालाई छिर्के हान्नमा सक्रिय नै छ।

प्रचण्डलाई ‘स्वर्ग नर्क जता गए पनि सँगै जाउँला” भन्ने विश्वास दिलाएर आफू स्वर्गको सिँढी उक्लिसकेपछि आफूलाई नर्कतिर धकेलेको गुनासो अझै गरिरहन्छन्, प्रचण्ड। ओली दिमागका यिनै तन्तु क्रियाशील भए भने विधान महाधिवेशनअघिसम्म ओली नै विद्यालाई अध्यक्ष पद समर्पणको वचन दिन्छन्, अधिवेशनमा पूर्वराष्ट्रपतिलाई दलको सदस्यता दिन नहुने नीति पास हुन पनि सक्छ।

मानिसहरूले अझै पनि एमाले चिनेका छैनन्। एमाले चिन्न यसको प्रारूपका चरित्र चित्रण हुनुपर्दछ। एमाले त्यस्ता चतुरहरूले बनाएको दल हो, जो किसानका घरमा दूधको ढुंग्रो देखेपछि आफूलाई ग्यास्टिक छ भनेर पेट समाउँथ्यो। किसानले ठूलो गिलासभरि तातो दूध पिउन दिएपछि ग्यास्टिक ठिक हुन्थ्यो र ‘मार्क्सवादका पहला पुस्तक, नारीबन्धन र मुक्ति” लिएर बुइँगलमा उक्लिन्थ्यो। जनताको घरमा सिकेको भात खाने सिप राज्यबाट खर्च निकाल्ने कलामा परिणत भइसकेको पनि वर्षौँ बितिसकेको छ। विद्या पार्टीका नेताकार्यकर्ताहरूको यो सिप नियन्त्रण गर्ने रचनात्मक अभीष्टसहित राजनीति गर्ने हो भने स्वागतयोग्य मान्नेपर्छ।

विद्याले आफ्नो अत्युत्तम क्षमता जतिसुकै प्रयोग गरे पनि संगठनको यही संरचना, यिनै व्यक्तिहरूले रचना गरेको व्यूहको परिधिभित्रै रहेर देशमा तरक्की हुनु असम्भव छ।  विद्याको राजनीतिमा आगमन सामान्य राजनीतिक फेरबदलको कुरा होइन। उनी राष्ट्रपतिको पदबाट निवृत्त भइसकेपछि आउन खोजेकी हुन्। त्यसकारण उनले केही सारभूत प्रश्नमा आफ्नै दिमाग खियाउनुपर्छ।

ती प्रश्न हुन्,

१. राजनीतिको उच्चतम टाकुरा राष्ट्रपतिको पदमा बसेर हेर्दा उनले देशमा राज्यको काम कस्तो देखिन?

२. राष्ट्रपतिको नजरमा राज्यमा बौद्धिक मीमांसाको अवस्था कस्तो रहेछ?

३. राज्यको तहमा उनी आफैँले मात्र सम्बोधन गर्न सक्ने समस्या के के रहेछन्? ओली, देउवा वा प्रचण्डले किन हल गर्न सकेनन्?

४. कुन आन्तरिक वा बाह्य उत्तोलकले उनलाई राजनीतिमा फर्काउने प्रेरित गरिरहेको छ?

५. के राष्ट्रपतिका रूपमा उनलाई कुनै काम दबाबपूर्वक गराइयो?

६. उनी प्रधानमन्त्री भएको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीबीचका राजनीतिक सम्बन्धका समकालीन आधार कस्ता हुनेछन्?

७. संविधान, व्यवस्था र प्रणालीका आन्तरिक समस्या र व्यक्तिका निजी दोष र कमजोरीउपर उनका निजी दृष्टिकोण के के हुन्?

८. के उनी एमालेको यही संगठन संरचना, उनै मानिस, उही वैचारिक अस्पष्टताको बिरासत थामेर राजनीतिको बडेमानको रथ धकेल्छिन् वा यी सबै चिजमा पूर्ण सिंहावलोकन गरेर अघि बढ्छिन्?

त्यसको एउटा श्वेतपत्र जारी गर्न सकिन् भने भन्न सकिन्छ- उनी सांगठनिक चेतबाट उठेर चैतन्यको चरणमा जाँदै छिन्।  अर्को महत्त्वपूर्ण कुरा पनि छ जागृत ओपिनियनहरूसँग उनले कसरी स‌ंवाद गर्नेछिन्? परिवर्तित, सामाजिक राजनीतिक दृष्टिकोण, राज्य सरकार शासन व्यवस्था र पद्धतिप्रति चलिरहेका डिस्कोर्सहरूप्रति उनका धारणा के छन् वा यस्ता प्रयत्नहरू उनको विचारमा निरुद्देश्य हुन्?

नि:सन्देह, एक सशक्त दलको अध्यक्ष हुनु र राष्ट्रपति हुनुमा आकाश-जमिनको अन्तर छ। उनले यदि एमाले अध्यक्ष ताकेकै हो भने त्यो पदले संवाद, सहकार्य, सहअस्तित्व र संयमताको आग्रह राख्दछ। विद्याले शिक्षा लिन खोज्ने हो भने ओलीका सफलता पछाडिका असफलता केलाए पुग्छ।

प्रकाशित: २२ असार २०८२ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast