यी हुन् रवि लामिछानेका पक्षमा हस्ताक्षर गर्ने कलाकार

सुस्मिता बजगाईं २० असार २०८२ १८:१२
76
SHARES
यी हुन् रवि लामिछानेका पक्षमा हस्ताक्षर गर्ने कलाकार

काठमाडौँ– अहिले देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीले ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर अभियान’ चलाइरहेको छ। रवि लामिछाने रास्वपाका अध्यक्ष हुन्। उनी सहकारीको रकम अपचलनको अभियोगमा जेल सजाय भोगिरहेका छन्।

रूपन्देही कारागारमा रहेका लामिछानेले आफूमाथि भएको प्रतिशोधमा हस्ताक्षर गरेर साथ दिन आग्रह गरेका थिए। सोहीअनुसार पार्टीले अभियान चलाइरहेको छ। असार ७ गते सुरु भएको अभियानमा रविका पक्षमा विभिन्न व्यक्तिहरूले समर्थन जनाइरहेका छन्। नेतादेखि कलाकारसम्मले उनको पक्षमा हस्ताक्षर गरिरहेको फोटो सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ। उनीहरूले रविले न्याय पाउनुपर्ने भन्दै अभियानमा साथ दिएको बताएका छन्।

यसैबीच थुप्रै चर्चित कलाकार पनि अभियानमा जोडिएका छन्। अभिनेता विपिन कार्कीदेखि हास्यकलाकार किरण केसीसमेतले रविका पक्षमा हस्ताक्षर गरिसकेका छन्।

विपिन कार्की

अभिनेता विपिन कार्की पनि रविको पक्षमा साथ दिएका छन्। उनले केही दिनअघि रास्वपाको अभियानमा हस्ताक्षर गरेका थिए। कार्कीले असार ९ मा रास्वपाको कार्यालय पुगेर हस्ताक्षर गरेका हुन्। उनले एक नागरिकको हैसियतले अन्यायको विरोधमा उभिन जरुरी ठानेर हस्ताक्षर गरेको बताएका छन्।

किरण केसी

रवि लामिछानेको पक्षमा चर्चित हास्य कलाकार किरण केसीले शुक्रबार हस्ताक्षर गरेका छन्। उनले अभियान स्थलमै पुगेर हस्ताक्षर गरेका हुन्। ३५ वर्षदेखिको पुरानो साथी लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै केसीले हस्ताक्षर गरेको बताएका छन। ‘म कुनै पनि पार्टीमा आबद्ध छैन। नैतिकताका आधारमा मेरो मताधिकार प्रयोग गर्ने क्रममा रविलाई भोट हालेको पनि थिएँ’, उनले भने।

गायक तथा संगीतकार खेम सेञ्चुरी

चर्चित लोकदोहोरी गायक तथा संगीतकार खेम सेञ्चुरीले पनि रविका पक्षमा हस्ताक्षर गरेका छन्। अभियान कार्यस्थलमै पुगेर गायक सेञ्चुरीले रवि लामिछानेमाथि अन्याय भएको र उनले न्याय पाउनुपर्ने बताएका छन्।

रामचन्द्र अधिकारी

कलाकार रामचन्द्र अधिकारी ‘गोक्तेकाजी’ ले पनि रवि लामिछानेलाई साथ दिएका छन्। उनले सत्य कुराको छानबिन गरेर रवि लामिछाने छिट्टै छुटून् भन्ने प्रार्थनासमेत गरेका छन्। ‘रविले समाजसेवा र पत्रकारितामा गर्नुभएको योगदान हामीले देखेका छौँ। उहाँको साथमा हामी छौँ भनेर हस्ताक्षर गरेका हौँ,’ उनले भने।

त्यस्तै अन्य कलाकार राजाराम बर्तौला, रमेश उप्रेती, खगेन्द्र लामिछाने, अशोक शर्मा, अनुराग कुमार, रंग पत्रकार प्रकाश सुवेदी, कमल सरगम, फिल्म निर्देशक दीपेन्द्रकुमार खनालले पनि रविको पक्षमा हस्ताक्षर गरिसकेका छन्।

रंग पत्रकार सुवेदीले सरकारको प्रतिशोपूर्ण कामको अन्त्यका लागि हस्ताक्षर अभियानमा जोडिएको बताएका छन्। ‘उहाँले जुन सजाय भोगिरहनुभएको छ त्यसका लागि सरकारको कदम प्रतिशोधपूर्ण देखिएको छ। त्यस्तो नहोस् भन्नका लागि हामी यहाँ आएका हौँ’, उनले भने।

प्रकाशित: २० असार २०८२ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast