संस्मरण

सिंगापुर : ट्राभल कार्ड, मेट्रो र मेरिना बे

ईश्वर पोखरेल २१ असार २०८२ १८:२०
60
SHARES
सिंगापुर : ट्राभल कार्ड, मेट्रो र मेरिना बे

हामीले चांगी एयरपोर्टमै लिएका थियौँ सिंगापुरको सिमकार्ड। यसबाट सिंगापुरमा इन्टरनेट सेवा लिन र ग्राब चलाउन हामीलाई सहज भएको थियो। चांगी एयरपोर्टमै हामी भोकाएजस्तै भएका पनि थियौँ। रेस्टुरेन्ट कता छ भन्ने खोजी हुनु स्वाभाविक भयो। यसको खोजीमा पनि इन्टरनेट आवश्यक रहने नै भयो।

रेस्टुरेन्टमा पुगेपछि रमाइलो त्यतिबेला भयो; जब कौशु ब्रेकफास्ट टेबुलमा बस्नुअघि मुख धुन उचित स्थानको खोजीमा लागिन्। कतै त्यस्तो स्थान नपाएपछि तर्क हुन थाल्यो- ‘रातमा निदाएको छ भने पो ब्युँझिएपछि मुख धुनुपर्छ; प्लेनमा रातभर ननिदाएको/जाग्राम बसेको मान्छेले त मुख कुल्ला गरे पुग्छ।’

सिमकार्ड लिइसकेकाले अब हाम्रो प्राथमिकतामा आयो- ट्राभल कार्ड। ट्राभल कार्ड लिएपछि सिंगापुरमा आवागमनका लागि मेट्रो र बससेवा उपयोग गर्न सहज हुने। ट्राभल सेवा जति उपयोग गरे पनि भयो।

लिटिल इन्डियामा खाना खाएर फर्किएपछि ‘मेरिना बे’ आइपुग्नुअघि जमिनको सतहबाट हामी एस्केलेटरबाट एउटा सुरुङमा झर्‍यौँ; तर अचम्म! यो सुरुङ त भव्य बजार जस्तो पो छ! अर्को एस्केलेटरबाट तल झरेपछि पनि भव्य बजार! अर्को तला झरेपछि पनि बजार! ठूलाठूला पसलहरू छन्; किन्ने मान्छे पनि त्यत्तिकै छन्; भीडभाड पो छ ए! भौतिक विकासको कस्तो स्वरूप हो यो!! जमिनको सतहबाट भित्र पसेपछि ठूल्ठूला मल पो छन्!

एउटा कुनामा सामान्य काउन्टरमा पाइने रहेछ- ट्राभल कार्ड। काउन्टरमा मात्र एकजना महिला कर्मचारी। उनैले रकम लिइन् र केही क्षणपछि ट्राभल कार्ड दिइन्। प्रविधिको उच्चस्तरको विकासमा मानव–श्रम थोरै मात्र प्रयोग हुने रहेछ; सेवा प्रवाहमा जनशक्ति थोरै भए पनि पुग्ने रहेछ।

अन्धाधुन्ध दरबन्दी थपेर प्रशासन संयन्त्र अत्यन्त बोझिलो बनाइएको देशबाट आएका हामी! हातको चोरी औँलाले कम्प्युटरको किबोर्ड चलाउने जनशक्तिलाई अत्याधुनिक जनशक्तिका रूपमा परिभाषित गर्ने र प्रविधिमैत्री प्रशासनयन्त्रको सपना देख्ने हामी!! अर्कातिर सार्वजनिक सेवा प्रवाहको यस्तो छरितोपन!

अब हामी चारैजनाको गोजीमा थपियो- सिंगापुरको ट्राभल कार्ड। आवागमनमा समस्या भएन। एक्सेलेटर छः अब समस्या उक्लिन/ओर्लिन पनि भएन। एक्सेलेटर हाम्रा लागि अझै विलासिताको वस्तु हो; सिंगापुरमा त्यो दैनिक सामाजिक जनजीवनको अभिन्न अंग रहेछ।

काठमाडौँमा सबैभन्दा पहिले एक्सेलेटर प्रयोगमा ल्याएको श्रेय न्युरोडस्थित विशालबजार कम्पनीलाई दिनुपर्छ होला। काठमाडौँमा प्रारम्भमा यो एक रमिताको वस्तु थियो; मानिसहरू एक्सेलेटर हेर्न र प्रयोग गर्न मात्र पनि विशालबजार पुग्ने गर्दथे। अब काठमाडौँको कतिपय प्रतिष्ठानहरूमा एक्सेलेटरको प्रयोग बाक्लै देखिने गरेको छ।

मेरिना बे।

सिंगापुरमा भने यो आमप्रयोगको वस्तु रहेछ। हामीकहाँ एक्सेलेटरले एउटा तलाबाट अर्को तलामा पुर्‍याउने। अर्को तलामा पुग्न फेरि एक्सेलेटर खोज्नुपर्ने। सिंगापुरमा भने एउटै एक्सेलेटरले दुई तला तलमाथि पनि गराउने। कस्तो भीडभाड हो- एक्सेलेटरमा! सिंगापुरमा कहाँबाट ओइरिन्छन्- यति धेरै पर्यटक!!

सिंगापुर भूमध्यरेखाबाट डेढ डिग्री उत्तरमा अवस्थित रहेछ। यहाँ उष्णकटिबन्धीय हावापानी। कुनै विशिष्ट मौसम नहुने। सधैँ तातो र ओसिलो हावापानी; सधैँ एकरूप तापक्रम र चाप, उच्च आद्रता र प्रशस्त वर्षा हुने। सडकमा गर्मी लाग्छ; ओसिलो हावा वहन्छ : यो सडकको कुरा भयो तर सिंगापुरमा बस, मेट्रो, मल, रेस्टुरेन्ट एयर कन्डिस्नर कहाँ छैन र!

हामीले मेट्रो रेलको बारेमा सुनेका मात्र थियौँ; अनुभव लिन पाएका थिएनौँ। सिंगापुरमा मेट्रो चढ्नका लागि जमिनको सतहबाट तीनचार तला एस्केलेटरबाट तल झर्नु पर्ने। मेट्रो चढ्न मानिसको भीड छ; तर घच्चापच्चा छैन। सबै पंक्तिमा छन्; सबै पंक्तिबद्ध छन्। हल्लाखल्ला पनि छैन; कोकोहोलो पनि छैन; सिट ओगट्न मारामार पनि छैन; उछिनपाछिन पनि छैन।

मेट्रोमा शारीरिक रूपमा अशक्त मानिसका लागि केही सिट छन्; नत्र आरक्षित सिट छैनन्। मेट्रोमा बच्चा लिएको, गर्भवती, प्रौढ र बिरामीजस्तो देखिने मानिस चढ्यो भने कसले सिट छाड्दैन र! बसेको सिटबाट को उठ्दैन र!! मेट्रोमा उभिँदा/बस्दा पनि एकअर्कालाई छोइन्छ कि; अरू कसैलाई असुविधा हुन्छ कि भने झैँ देखिन सबै मान्छेहरू! गफगाफ पनि छैन; हँस्सीमजाक पनि छैन। कति शान्त! कति नियमबद्ध!! अघिल्लो स्टेसन कुन हो र त्यहाँ पुग्न कति समय लाग्छ भन्ने सूचना मेट्रोमै अंकित हुने। मेट्रोबाट झर्दा पनि उस्तै पंक्तिबद्ध। उस्तै नियमबद्ध।

सिंगापुरको मध्यभागतिर समुद्रको पानी ल्याएर ठूलो ताल बनाइएको छ र त्यस तालको वरिपरि छन्- गगनचुम्बी महलहरू। तिनै महलमा तीनवटा महल त सन्ताउन्न तले! ती तीनवटा महलको छतलाई जोडेर एउटै बनाइएको!! ती तीन अग्ला महलको संयुक्त छतमा होटल!! माथि नै बगैँचा र अग्लाअग्ला रूखहरू। ती होटल, यसको प्रांगण र यस वरपरको क्षेत्रको नाम- ‘मेरिना बे’। साँझ परेपछि मेरिना बेको एक छेउमा सुमधुर संगीतको धुनमा त्यही कृत्रिम तालको पानीलाई फोहोरा बनाएर विभिन्न आकार र रङमा नचाएर/उफारेर फाउन्टेनले मच्चाउँछ- उधुम!

मेरिना बेमा रमाउँदै लेखक र अन्य।

त्यो चमत्कारपूर्ण दृश्यावली हेर्न साँझमा मेरिना बेको विशाल प्रांगणमा कताकताबाट ओइरिन्छन्- पर्यटकहरू। सबै मन्त्रमुग्ध! सबै रोमाञ्चित!! न बदाम बेच्नेको हल्लाखल्ला; न आइसक्रिमवालाको कर्कस स्वर। ती ५७ तले महलमाथिको रेस्टुरेन्टमा मनपसन्द परिकारहरूको स्वाद लिँदै घरी सिंगापुरको सन्ध्याकालीन झिलिमिली र मनमोहक दृश्यावलीमा रमाएर र घरि फाउन्टेनको यो रोमाञ्चक दृश्यमा नजर डुलाउने र रमाउने सुविधा/अवसर- पर्यटकलाई!!

उसै त महँगो सिंगापुरको पर्यटकीय बजार! ती ५७ तले महल चढेर ती अति महँगा होटल/रेस्टुरेन्टमा सिट पाउन लामो लाइनको हिस्सा बन्नुपर्ने। धनी देशका पर्यटकहरू महँगो रकम तिरेर रोमाञ्चक÷सुखद अनुभव किन्न निस्किएका हुन्छन्। तीसँग सिंगापुरको मेरिना बेमा पर्याप्त खर्च गर्ने तत्परता पनि छ; क्यूमा उभिने धैर्य पनि छ। अर्कातिर संसारभरबाट ओइरिएका पर्यटकहरूबाटै मेरिना बेको यो विशाल प्रांगण भरिएको पनि छ। यिनैसँग उभिएर हेर्दा पनि साँझमा मेरिना बेमा फाउन्टेनको यो उधुम कम्ती रोमाञ्चक लाग्दैन!

हामीले पहिलोपटक फाउन्टेन वीरगन्जको घडीअर्वा पोखरीमा हेरेका थियौँ। साँझ पर्न लागेपछि दर्शकहरू टिकट काटेर गेटबाट पोखरीतर्फ प्रवेश गर्दथे। दर्शकको भीडभाड हुन्थ्यो। फाउन्टेन चालु भएर पानीको फोहोरा नाच्न थालेपछि सबै मन्त्रमुग्ध हुन्थे।

मेरिना बेमा त्योभन्दा धेरै ठूलो फाउन्टेन। विविध रङ र तालमा ढल्ने। छिनछिनमै चमत्कारपूर्ण स्वरूप लिनसक्ने। फाउन्टेनको उत्ताउलो दृश्य कृत्रिम तालमा प्रतिबिम्बित हुँदा अझ रमाइलो देखिने। मेरिना बेको यस प्रांगणमा विविध देश/समुदायबाट आएका पर्यटकहरू भेला भएका छन्; पर्यटकहरूको यस ‘कुम्भमेला’ मा भागदौड छैन; सबै शिष्ट छन्; सबैलाई आफ्नो सीमाबोध छ र सबै निःशुल्क मनोरञ्जन लिइरहेछन्।

हामीले सिंगापुर पुगेकै दिन (२७ असोज, २०८० तदनुसार १४ अक्टोबर, २०२३) मेरिना बेको यस प्रांगणमा साँझमा उच्च स्तरको रमझममा रमाएर मनोरञ्जन प्राप्त गर्न झन्डै दुई घन्टा व्यतीत गर्‍यौँ।

हाम्रो हिजोको निद्रा पनि बाँकी छ। हावाहुरी चल्ने र पानी पर्ने लक्षण पनि देखिँदै छ। हामी एएम होटलमा आइपुग्दानपुग्दै पानी दर्किन थाल्यो; हावाहुरीले पनि उग्र रूप धारण गर्‍यो। विश्वभरका पर्यटकहरू समक्ष चुस्त पर्यटकीय क्षेत्रको पहिचान बनाएको सिंगापुर भोलि बिहान चैँ भताभुंग देखिन्छ कि कसो हो! हामीलाई सुन्दर सिंगापुरलाई अस्तव्यस्त अवस्थामा हेर्न जुरेको छ कि कसो हो!

मेरिना बेमा उन्नत हुने क्रममा फाउन्टेन।
प्रकाशित: २१ असार २०८२ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast