
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) प्रवेशपछि पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा चुलिन सक्ने संकेत देखिँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका छन्। २०७४ साल यता पार्टीमा एकछत्र हैसियत जमाएका ओलीका लागि भण्डारी सम्भावित चुनौतीका रूपमा उदाउँदै गएकी छन्।
एमालेभित्र अब बन्ने नेतृत्व चयन प्रक्रियामा ओली र भण्डारीबीच प्रतिस्पर्धा हुने अवस्था आएमा एकजनाले सक्रिय राजनीतिबाट पछि हट्नुपर्ने परिस्थिति आउन सक्ने एमालेकै नेताहरूको धारणा छ। विश्लेषकहरू भन्छन्- भण्डारीको सक्रियताले ओलीको हैसियतलाई खल्बल्याउने सम्भावना बढ्दो छ।
एमालेले आगामी भदौ २० मा विधान महाधिवेशन गर्दै छ। भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन गर्न लागिएको हो। पार्टी विधानमै दुई महाधिवेशनको बीचमा पर्नेगरी विधान महाधिवेशन गर्ने प्रावधानअनुसार एमालेले मिति तय गरेको हो।
एमाले विधानमा केकस्ता विषय बनाउने वा राख्नेमा सघन छलफल सुरु भएको छ। एमाले विधानको धारा-८९ विधान संशोधन प्रस्तावअनुुसार ‘केन्द्रीय कमिटीले विधान महाधिवेशन सुरु हुनुभन्दा एक महिनाअगावै मातहत कमिटी र सदस्यहरूसमक्ष विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलका लागि पठाउनुपर्ने’ व्यवस्था छ।
एमाले आगामी साउनमा केन्द्रीय कमिटी बैठकमार्फत एमालेले विधान महाधिवेशनका लागि संशोधन प्रस्ताव ल्याउन खुला गर्नुपर्छ। अहिले नेताहरू भावी नेतृत्वलाई लक्षित गर्दै विधानका केही प्रावधान हटाउन वा राख्न बहस गरिरहेका छन्।
एमालेमा अहिले ७० वर्षे उमेर हद र दुई कार्यकाल पदाधिकारीको विषय सबैभन्दा बढी पेचिलो बनेको छ। अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू ७० वर्षे र दुई कार्यकाल प्रावधान हटाउनुपर्ने पक्षमा छन्। यी प्रावधानले ओलीलाई असर पर्ने भएकाले नेताहरू खुलेर यसको विपक्षमा बहस गर्दै छन्।
७२ वर्षीय ओली दुई कार्यकाल अध्यक्ष बनिसकेका छन्। उनले भाबी नेतृत्वमा पनि अभिलाषा राखेका छन्। ‘२० वर्ष एमालेमा अरूले आँखा लगाउन नसक्ने’, ‘ओलीबिनाको एमाले नहुने’ जस्ता अभिव्यक्ति यसकै प्रमाण हुन्।
दोस्रो दर्जाका नेताहरूले पनि ओलीलाई तेहे¥याउन साथ दिँदै नेतृत्वमा विकल्प सोच्न नहुने दाबी गरिरहेका छन्।
‘एमाले नेतृत्वमा विकल्प खोज्न सकिँदैन। कमरेड ओली नै अध्यक्ष बन्न सक्षम पात्र हुुनुहुन्छ’, एमाले स्थायी समिति सदस्य विशाल भट्टराई भन्छन्। एमाले वृत्तमा ओलीसँग भाबी नेतृत्वका रूपमा चर्चामा छिन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। ६४ वर्षीया भण्डारीण् एमाले नेतृत्वमा आउन उमेर हदले बाधा पार्न नहुने कारण नेताहरू उमेर हदका पक्षमा बोलिरहेका छन्।
‘एमालेले नवौँ महाधिवेशनपछि उमेर हदको प्रावधान ल्याएको हो। अब पनि बहसको विषय बनाउनुपर्छ,’ एमाले उपाध्यक्ष युवराज ज्ञवाली सम्झन्छन्, ‘त्यसबेला वामदेव गौतमबाहेक सबैको सहमतिमा उमेर हद र दुई कार्यकाल लगाइएको थियो।’
ज्ञवाली ओली वा अन्य कसैलाई हेरेर विधानको विषय ननिकालेको बताउँछन्। ‘यो व्यक्तिसँगको विषय होइन। एमाले पार्टी कसरी बलियो बन्छ भन्ने हो’, उनले भने। विधान महाधिवेशनमा उमेर हद मुख्य विषय बन्ने निश्चित छ।
एमालेका केही नेता खुला रूपमा भण्डारीका पक्षमा वकालत गर्दै आएका छन्। यद्यपि अहिलेसम्म भण्डारीले एमालेको नेतृत्व सम्हाल्ने अभिव्यक्ति दिएकी छैनन्। उनी निकट नेताहरू एमाले नेतृत्वमा अब भण्डारीको आवश्यकता रहेको दाबी गर्छन्। ‘एमालेको ठूलो पंक्तिले भण्डारीको नेतृत्व चाहन्छ’, एमाले स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन्।
भदौमा हुने विधान महाधिवेशनले ७० वर्षे उमेरहदको विषयलाई निर्णायक तरिकाले टुंग्याउने दाबी नेताहरूको छ। एमालेको विधानको धारा ६४ को ‘उम्मेदवार बन्न नपाउने’ विषय मुख्यतः छलफलको केन्द्रमा रहनेछ।
७० वर्ष उमेर हद लागेमा ओली आगामी कार्यकाल कार्यकारी भूमिकामा रहन पाउने छैनन्। भण्डारीलाई भने उमेर हद नै नेतृत्वमा उदाउने उपयुक्त माध्यम बन्ने नेताहरूको बुझाइ छ।
भण्डारीलाई अझै ६ वर्ष एमालेको नेतृत्व गर्न रोक छैन। अहिले एमालेमा जोडतोडले उठेको अर्को विषय हो, दुई कार्यकाल पदाधिकारी। कोही नेता कुनै पदमा दुई पटक रहेको भएमा तेस्रो पटक प्रतिस्पर्धा गर्न नपाउने दाबी नेताहरूको छ।
‘हाम्रो पार्टीमा विधानका रूपमा दुई कार्यकाल प्रावधान छ। यही विधान लाग्ने हो भने म पनि फेरि उपाध्यक्ष लड्न अयोग्य रहनेछु’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्। ज्ञवाली दुई कार्यकाल उपाध्यक्ष बनिसकेका छन्। ज्ञवाली मात्र होइन, एमालेका अन्य पदाधिकारी पनि ७० वर्षे प्रावधानको वकालतमा लागेका छन्।
एमालेले यसअघि नै उमेर हद प्रावधान हटाउने संकेत देखाएको छ। नेकपा एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाउन एमालेले उमेर हद प्रावधान ‘निलम्बन’ गरेको थियो।
ओलीले सार्वजनिक मञ्चबाटै उमेर हद असान्दर्भिक बनेको बताएका छन्। गत जेठ २५ मा विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रमा ओलीले ‘७० वर्षे उमेरहद असफल भएको’ बताएका थिए।
ओलीले भनेका थिए, ‘७० वर्ष उमेर हद फेल खाइसक्यो। अहिले म ७४ मा चल्दै छु। ७० मा रिटायर्ड हुन चार वर्ष घटाउन भएन। त्यस कारण, उमेरले होइन। स्वास्थ्यले साथ दिन्छ, दिँदैन। कार्यक्षमता हुन्छ या हुँदैन यी कुराहरु मुख्य हो।’
ओलीले चिनियाँ कम्युनिस्ट पार्टीमा नेतृत्वको निरन्तर आवश्यकता देखेपछि ६५ वर्षे उमेर हद हटाइएको चर्चा गरे। उनले भने, ‘चीनमा दुई पटक मात्रै अध्यक्ष हुन पाउने भन्ने बनाइएको थियो। महासचिव दुईपल्ट, राष्ट्रपति दुइपल्ट हुन पाउने नियम बनाइएको थियो। सी जिनपिङको नेतृत्वको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ७० वर्ष पनि हुँदैन, ६५ पनि नहुने बनाइयो। साइप्रसको कम्युनिस्ट पार्टी, अरु विभिन्न पार्टीले उमेर हद तोकेका थिए, छोडे। मै हुन्छु भन्ने छैन। कुरा के हो भने जडसूत्रका रूपमा कुनै कुरा समाउने होइन।’
ओलीको भनाइलाई विधिमा बदल्न भदौको विधान महाधिवेशन उपयुक्त समय हो। तर उमेर हदको प्रावधान हटाउन भने सहज छैन। एमालेका केन्द्रीय स्तरका नेता उमेर हद राख्नुपर्ने पक्षमा छन्।
‘पहिले सामूहिक रूपमा नै पार्टीमा उमेर हद लगाइएको हो। अब प्रस्ताव पनि व्यक्तिले लैजानुपर्छ,’ एमाले स्थायी कमिटी सदस्य थापा भन्छन्, ‘तपसिलका विषयलाई विधान महाधिवेशनमार्फत हल गरेपछि नेतृत्वको कुरा उठ्छ।’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत ७० वर्षे उमेरहद हटाउन नहुने बताएका छन्। एमालेमा बढिरहेको उमेर हदको पक्षधरता र ओलीप्रतिको असन्तुष्टिले पनि उमेर हद फ्याँक्न सहज देखिँदैन।
‘ओलीले आफूविरुद्धको असन्तुष्टिको घेरा तोड्न नसक्दा उमेरहद रहन सक्छ,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘भण्डारीलाई रोक्न विधानमै आउन नसक्ने प्रावधान बनाउन सक्छन्।’ दाहालका अनुसार ओलीका लागि भण्डारी नै मुख्य चुनौती हुन्।
कुनै बेला एउटै गुटबाट प्रतिनिधित्व गरेका ओली-विद्याबीच प्रतिस्पर्धा हुनेमा धेरै नेताहरू पत्याउँदैनन्। ओली अध्यक्ष हुँदा उपाध्यक्ष मात्र रहेकी भण्डारी कसरी अध्यक्षमै टक्कर देलिन्, अनौठो विषय छ। एमालेका नेताहरू अहिले पनि भण्डारीलाई प्रतिस्पर्धी मान्दैनन्।
‘उहाँहरू (ओली-विद्या) बाट प्रतिस्पर्धा होला भन्ने विश्वास मलाई लागेको छैन’, भोजपुर गृहजिल्ला भएका एमाले नेता कृपासुर शेर्पा भन्छन्, ‘अहिलेसम्म उहाँ (विद्या) ले मलाई पनि राजनीतिमा आउँछु भन्ने भा छैन।’ शेर्पा र भण्डारीको गृहजिल्ला एउटै हो। एमालेबाट मन्त्रीसमेत बनिसकेका शेर्पा पनि भण्डारीबारे अनभिज्ञता देखाउँछन्।
‘केही नेताहरू उहाँ (भण्डारी) का पक्षमा लागेको देखिन्छ। उहाँ किन बोल्नु हुन्न,’ एमालेका एक नेता भन्छन्, ‘भण्डारीलाई पनि ओलीसँग चुनौती लागेको छ।’
भण्डारीले ओली जसरी खट्न नसक्ने यसअघि नै बताइसकेकी छन्। ओलीले मार्गप्रशस्त नगरे विद्यालाई असहज रहेको नेताहरूको दाबी छ। एमालेमा असन्तुष्ट पक्षले भण्डारीको पक्षधरता देखाएको छ। जनवर्गीय संगठनमा पराजित नेताहरू भण्डारीको पक्षमा उभिएका छन्। भण्डारीले यही लहरलाई समाउनुपर्ने नेताहरूको भनाइ छ। यसअघिका जनवर्गीय संगठनको निर्वाचनमा ओली पक्ष र भण्डारी पक्षबीच प्रतिस्पर्धा भएको थियो।
एमाले नेताहरू अहिले पक्षधरता देखाउनभन्दा पनि मौन रहन उचित हुने बताउँछन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न नहुने बताएका छन्।
एमालेको जनसंगठनलाई बुधबार सम्बोधन गर्दै पौडेलले नेतृत्वको बहस गर्न हतार गर्न नहुने तर्क गरेका थिए। एमालेमा पौडेलसमेत भण्डारी टिमका मानिन्छन्। मन्त्री भएकाले मात्र उनले ओलीको पक्षधरता देखाएको नेताहरूको बुझाइ छ।
एमाले सचिव पद्मा अर्याल पनि अहिले नेतृत्वबारे बहस गर्नु सान्दर्भिक नभएको बताउँछिन्। ‘अब विधान महाधिवेशननपछि मात्र नेतृत्वको बहस सुरु हुन्छ। अहिले नै अनुमान गर्नु हतार हुन्छ,’ अर्याल भन्छिन्, ‘महाधिवेशनका लागि त अझै दुई वर्ष बाँकी छ।’