मकै विस्थापित गर्दै अकबरे खुर्सानीको खेतीतर्फ स्याङ्जाका किसानको आकर्षण

हिमाल प्रेस २० असार २०८२ १४:१७
16
SHARES
मकै विस्थापित गर्दै अकबरे खुर्सानीको खेतीतर्फ स्याङ्जाका किसानको आकर्षण

स्याङ्जा- कालीगण्डकी गाउँपालिकाका कृषकहरूले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन्। गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत सातै वडामा खुर्सानी खेती विस्तार गरिएको हो।

गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार बजारमा अकबरे खुर्सानीको माग र मूल्य दुवै राम्रो भएकाले यसको व्यावसायिक खेतीमार्फत कृषकको आम्दानी बढाउने लक्ष्य राखिएको छ। अध्यक्ष थापाले भने,‘गाउँपालिकाका विभिन्न ठाउँमा ठूलो परिमाणमा अकबरे उत्पादन हुँदैछ। उत्पादनको बजारीकरण गाउँपालिकाले नै गर्ने भएकाले कृषकहरू थप प्रोत्साहित हुनेछन्।’

परियोजनाका बजार सहजकर्ता मुक्ति पाण्डेका अनुसार कृषकलाई निःशुल्क रुपमा बेर्ना, मल्चिङ प्लास्टिक र प्राविधिक सहायता उपलब्ध गराइएको छ। पाँच वटा नर्सरीमार्फत उत्पादित १ लाख ८३ हजार ३०० वटा बेर्ना १३० भन्दा बढी कृषकलाई वितरण गरिएको हो। प्रतिकेजी न्यूनतम रु २२५ को मूल्य तोकिएको अकबरे खुर्सानीको मूल्य उत्पादनको समयको बजार दरअनुसार अझै बढ्ने जनाइएको छ।

कालीगण्डकी–१ किपटका कृषक पृथ सिञ्जाली मगरले १० रोपनीमा ८ हजार अकबरे बेर्ना लगाएका छन्। ‘पहिले मकै खेती गरिन्थ्यो, अब व्यावसायिक रूपमा अकबरे लगाएको छु,’ उनले भने, ‘बजार ग्यारेन्टी, न्यूनतम मूल्य सुनिश्चितता र प्राविधिक सहयोगले हामीलाई उत्साहित बनाएको छ।’

उनका अनुसार बर्खे बालीभन्दा अकबरे खुर्सानीमा समय, श्रम र प्रतिफलका हिसाबले धेरै सम्भावना देखिएको छ। मकैभन्दा अकबरे खेती फाइदाजनक हुने विश्वास कृषकहरूको बढ्दो छ।

प्रकाशित: २० असार २०८२ १४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast