![शिक्षक दरबन्दी विवरण साउन १० भित्र पठाउन केन्द्रको आग्रह [ढाँचासहित]](https://himalpress.com/wp-content/uploads/2024/03/manabsrot.jpg)
भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई रिक्त शिक्षक दरबन्दी विवरण साउन १० गतेभित्र अनिवार्य रूपमा पठाउन आग्रह गरेको छ।
शिक्षक सेवा आयोगले पठाएको पत्रका आधारमा २०८२ सालको वैशाख १ गतेदेखि चैत मसान्तसम्म रिक्त भएका वा रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउनुपर्नेछ। यसका लागि आयोगले विज्ञापन प्रकाशन गर्नुपर्ने भएकाले दरबन्दी विवरण समयमै संकलन गर्न केन्द्रले यस्तो आग्रह गरेको हो।
केन्द्रका निर्देशक माधवप्रसाद पोखरेलद्वारा जारी पत्रअनुसार उक्त विवरण प्रमाणित कागजी प्रति र एक्सेल शीट (Excel Sheet) दुवै रूपमा [email protected] मा पठाउन भनिएको छ।
खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूका दरबन्दी समावेश नगर्न, गत वर्ष विज्ञापन भएर पदपूर्ति हुन नसकेका दरबन्दी नदिइने, माध्यमिक तहमा गणित र विज्ञान विषयलाई अलग-अलग विवरणसहित पठाउनुपर्ने, ऐच्छिक विषयहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र आयोगमा पठाएका दरबन्दीमा स्थायी नियुक्ति नगर्नुपर्ने विशेष हिदायत दिइएको छ।
त्यसैगरी, विशेष बढुवाबाट नियुक्त शिक्षकहरूका पद समावेश नगर्न र जिल्लाबाट पठाइने विवरणमा प्रत्येक स्थानीय तहको नामसहित माध्यमिक तथा निम्न माध्यमिक तहमा विषयको स्पष्ट उल्लेख गर्नुपर्ने पनि भनिएको छ।