भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग यथावत् : रास्वपा

हिमाल प्रेस २० असार २०८२ ११:१३
12
SHARES
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग यथावत् : रास्वपा रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संगठन विस्तार, विधायकी स्वतन्त्रताको रक्षा र रुपन्देही–३ उपनिर्वाचन तयारीसहित विविध ६ निर्णय गरेको छ। बैठकले प्रमीला भुसाल (चितवन), सुशील अधिकारी (दाङ) र मानकुमार लामा (चितवन) लाई पार्टीको संगठन विभागमा सदस्यका रूपमा मनोनीत गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकमा पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीको अडान कायमै राख्दै, सो विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग पुनः दोहोर्याइएको छ। पार्टीले संसदमा भइरहेका प्रतिरोध कायमै राख्ने निर्णय पनि गरेको छ।

त्यस्तै, राज्य व्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा प्रवेश गरेको संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको हेरफेरप्रति पार्टीले आपत्ति जनाएको छ।

पार्टीका अनुसार विधायकी स्वतन्त्रतामाथि प्रहार गर्ने गरी गरिएको बदमासीपूर्ण संशोधन संविधानको मर्मविपरीत छ। त्यसमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग बैठकले राखेको छ।

रुपन्देही क्षेत्र नं. ३ को आगामी कात्तिक २७ गते हुने उपनिर्वाचनमा पार्टीले योग्य र जनचाहनाअनुरूपको उम्मेदवार चयन गर्ने निर्णय गरेको छ। बैठकमा उम्मेदवार छनोट कार्यविधिबारे गम्भीर छलफल भएको र प्राप्त सुझावहरूलाई समेट्दै आगामी आइतबार बस्ने सचिवालय बैठकमा अन्तिम कार्यविधि प्रस्तुत गरिने प्रवक्ता झाले जानकारी दिए।

संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै बैठकले केन्द्रीय विभागहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ। यसैगरी, वडा अधिवेशनसम्बन्धी पुरानो नियमलाई संशोधन गर्दै अब कम्तीमा ५० प्रतिशत वडा अधिवेशन सकिएको पालिकामा पनि पालिका अधिवेशन गर्न सकिने निर्णय गरिएको छ।

३० प्रतिशत वडा अधिवेशन भएको पालिकाहरूमा पनि अधिवेशन गर्न सकिने व्यवस्था मिलाइएको छ। कुन पालिकामा कति प्रतिशत वडा अधिवेशन भएको भन्ने तथ्यांकले संगठनको अवस्था स्पष्ट हुने भएकाले सकभर धेरै वडा अधिवेशन सम्पन्न गर्न पनि निर्देशन दिइएको छ।

प्रकाशित: २० असार २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast