‘इच्छुक’ काे सम्झनामा गीत सार्वजनिक हुँदै

हिमाल प्रेस २० असार २०८२ ११:०१
6
SHARES
‘इच्छुक’ काे सम्झनामा गीत सार्वजनिक हुँदै

काठमाडौँ- पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को सम्झनामा समर्पित गीत ‘सलाम इच्छुक’ को छायांकन भएको छ। वरिष्ठ पत्रकार महेश्वर दाहालकाे शब्द, केशर कालिकोटेकाे संगीत रहेकाे गीतमा रमण थामीले स्वर दिएका छन्।

गीत सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेका इच्छुकको योगदानलाई स्मरण गर्दै तयार पारिएको पत्रकार एवं गीतकार दाहालले बताए। उनले भने, ‘यो गीत इच्छुकजस्ता अग्रगामी युगदृष्टा पत्रकारप्रतिको श्रद्धा हो। इच्छुकको प्रेरणालाई गीतमार्फत जीवित राख्ने प्रयास गरेका हौँ।’

संगीतकार केशर कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताए। उनले भने, ‘यो गीत कुनै साधारण श्रद्धाञ्जली होइन, यो एउटा क्रान्तिकारी चेतनाको प्रतिध्वनि हो।’ थामीले इच्छुकको योगदानको स्मरण गर्नु भावनात्मकमात्र नभएर वैचारिक उत्तराधिकारको सम्मान भएको बताए।

इच्छुकलाई २०५९ साल जेठ १३ मा पक्राउ गरी यातना दिएर हत्या गरिएको थियो। उनको हत्यापछिको समाचारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको थियो।

क्रान्तिकारी कवि, पत्रकारिताका प्रतीकका रूपमा रहेका इच्छुकको नाममा सिर्जित यो गीत नयाँ पुस्तालाई विचार र बलिदानको मूल्य सम्झाउने सिर्जना भएको तत्कालीन जनयुद्धकालका साहित्य संगीतका अगुवा तथा नेता मणि थापाले बताए।

साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले यो गीतले इतिहासको मूल्यांकनमा नयाँ मानक स्थापितमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २० असार २०८२ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast