
जनकपुर- धनुषाको विदेह नगरपालिका-२ स्थित गोबराही इलाकामा सशस्त्र प्रहरी र तस्कर समूहबीच भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अवैध सामानको खोजतलास गर्ने क्रममा उक्त घटना भएको हो।
सशस्त्र प्रहरीलाई मोटरसाइकलमा अवैध सामान लुकाई राखिएको भन्ने सूचनाको आधारमा खटिएको टोलीले गोबराही क्षेत्रमा एकवटा मोटरसाइकल फेला पारेको थियो। त्यसपछि नजिकै रहेको एक टहरोमा पनि खोजतलास गर्ने क्रममा करिब १००–१५० जनाको समूहमा लुकीछिपी बसेका व्यक्तिहरूले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेका थिए।
प्रहरीमाथिको आक्रमण रोक्न र भीड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो भने ४ राउन्ड हवाई फायर पनि गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
झडपका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका मध्ये ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने अन्य ३ जनाको अवस्था सामान्य छ। अवस्था नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।