
काठमाडौँ- नेपाल बाल विकास शिक्षक संघर्ष केन्द्रीय समिति अध्यक्ष कृष्णकुमारी थापाले बाल विकास शिक्षकका पेसागत मागमुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रमुख दलका अध्यक्ष, मन्त्री, सांसद, नेता तथा सरोकारवालालाई ध्यानाकर्षण गराएको बताएकी छिन्।
सामाजिक सञ्जालमा ध्यानाकर्षणका तस्बिरहरू पोस्ट गर्दै अध्यक्ष थापाले राज्यका तह र तप्काका सबैलाई ध्यानाकर्षण गराउँदा पनि मागमुद्दाप्रति बेवास्ता गरेको गुनासो गरिन्।
‘नेपाल बाल विकास शिक्षक केन्द्रीय संर्घष समितिले बाल विकासको मागमुद्दाको विषयमा कहाँ, कसलाई र कोसँग भेटघाट र छलफल गरेको छैनौं र?,’ उनले भनिन्, ‘तर के गर्ने सरकारले हाम्रो मागमुद्दालाई सधैँ बेवास्ता गरेको छ। कि हामी महिला मात्र भएर हो सरकार?’
बाल विकास शिक्षकहरूले नयाँ शिक्षा ऐनमार्फत पेसागत स्थायित्व, पेसाबाट सम्मानजनक बिदाई, बाल विकासलाई विद्यालय संरचना राख्नुपर्ने मुख्य माग राखेका छन्।