
सुर्खेत– पारिवारिक कलहका कारण कर्णालीमा आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्न थालेको छ। सुर्खेत बराताल गाउँपालिकाका ११ वर्षका बालकले आफ्नो घरपरिवारको झगडाका कारण आत्महत्या गरेका हुन्। आत्महत्या गर्नुको मुख्य कारण परिवारमा दिनहुँ भइरहने झगडा रहेको छिमेकीहरूले बताएका छन्।
यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिकाकी आठ वर्षकी एक बालिकाले घरमा कोही नभएको समयमा बाख्राको दाम्लोमा झुन्डिएर आत्महत्या गरिन्। आत्महत्या गर्नुको मुख्य कारण अभिभावकको झैझगडा रहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी शिवकुमार श्रेष्ठ बताउँछन्। उनका अनुसार ती बालिकाको घरमा अभिभावकहरू जहिल्यै झगडा गर्थे।
बालबालिकाले गरिबी, देखासिकी र क्षणभरको आवेगमा आएर आत्महत्या गर्ने गरेका छन्। घरेलु हिंसा, आमाबुबाको कुटपिट तथा गालीले पनि कतिपय बालबालिकाले आत्महत्या गरेको अनुसन्धानका क्रममा खुलेको एसएसपी श्रेष्ठले जानकारी दिए।
नेपाल प्रहरीले आत्महत्या रोकथाम गर्ने उद्देश्यले विभिन्न प्रकारका जनचेतानामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आत्महत्याका घटनामा भने कमी आएको देखिँदैन। एसएसपी श्रेष्ठले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियान सञ्चालन भइरहेको जानकारी दिए।
समुदाय प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरीले स्थानीय तहका जनप्रतिनिधिसमेतको सहभागितामा देशभर आत्महत्या रोकथाम अभियान सञ्चालन गरेको छ। आत्महत्या रोकथामका लागि देशभरमा चार हजारभन्दा बढी समिति गठन गरिएका छन्। बढ्दो बेरोजगारी, आर्थिक अभाव, सामाजिक अपहेलना तथा उपेक्षाका कारण यस्ता घटना बढ्ने गरेका छन्। सामाजिक सञ्जालको दुरुपयोगसँगै बढ्दै गरेको साइबर अपराधका कारण आत्महत्याका घटना बढिरहेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरी अनुसन्धानले आत्महत्या रोकथामसम्बन्धी प्रयासमा ज्ञान, सीप तथा जनचेतनाको कमी देखाएको छ भने रोकथामका लागि वैज्ञानिक अनुसन्धानसमेत भएको देखिँदैन। श्रेष्ठले भने, ‘आत्महत्या गर्ने सोचाइ भएका व्यक्तिको मनोचिकित्सा गर्न मनोवैज्ञानिक परामर्शको समेत कमी छ। सामाजिक अपहेलना तथा मानसिक रोग लुकाउने प्रवृत्तिका कारण यस्ता घटना बढिरहेको छ।’
कर्णालीमा हालसम्म पनि मानसिक समस्याको उपचार हुने छुट्टै अस्पताल छैन। भएको ठाउँमा पनि मानसिक रोग विशेषज्ञको अभाव छ। प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा मात्रै मानसिक रोगको उपचार हुन्छ।
बिरामीको अत्यधिक चाप हुने कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञसँगै मानसिक समस्या भएकालाई छुट्टै राखेर उपचार गर्न मिल्ने खालको संरचना छैन। सोही कारणे समयमै उपचार नपाएर आत्महत्याको बाटो रोज्ने गरेको भनाइ कर्णाली प्रदेश अस्पतालका मनोविद् पूर्ण रावतको छ।
मनोविद् रावतका अनुसार कतिपय बालबालिकामा मानसिक समस्या धेरै देखेन थालेका छन्। व्यक्ति तथा बालबालिकाको गोपनीयताका हिसाबले छुट्टै राखेर उपचार गरिनुपर्नेमा त्यसो हुन सकेको छैन।
प्रदेशभर मानसिक रोगसम्बन्धी विशेषज्ञता हासिल गरेका तीन जना मात्रै डाक्टर र मनोविद् छन्। सुर्खेतबाहेक कर्णालीका अन्य नौ जिल्लामा मनोपरामर्श सेवा उपलब्ध भए पनि विशेषज्ञ डाक्टरसहितको सेवा विस्तार हुन सकेको छैन। अर्कोतर्फ मानसिक समस्याबारे आवश्यक जनचेतना नहुँदा भित्रभित्रै मानिसले गलत निर्णय लिइरहेका छन्।
आत्महत्या गर्नेमा मानसिक समस्या धेरै हुने गरेको मनोविद् राउतले बताए। आत्महत्यासँगै मानसिक समस्याका बारेमा पैरवी हुन नसकेको रावतले बताए।
‘एकैपटक आत्महत्यासम्बन्धी संवाद गरेर मात्रै हुँदैन, मानसिक समस्याका बारेमा पनि संवाद गर्न जरुरी छ,’ मनोविद् रावतले भने, ‘आत्महत्या गर्न खोज्ने मान्छेलाई बोल्न दिने र उनीहरूलाई सुनिदिने ठाउँ चाहिन्छ। यस्तो संरचनाको विकासमा राज्यको ध्यान पुगेको छैन।’
आत्महत्याका बारेमा जनचेतनाले मात्रै नहुने उल्लेख गर्दै मनोविद् रावतले यसलाई विद्यालयका शिक्षक, विद्यार्थीदेखि परिवार र समाजलाई सचेत गराउन आवश्यक रहेको बताए।
मानसिक समस्याले निम्त्याउने आत्महत्याजस्तो गलत सोचलाई पाठ्यक्रममै समावेश गरिन ढिलाइ गर्न नहुने मनोविद् रावतको सुझाव छ। बालबालिका र युवाहरूलाई यसबारे सचेतना जगाउनुपर्ने उनको भनाइ छ।
युवा तथा किशोरकिशोरी, सम्बन्धविच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्ति, तनावयुक्त वैवाहिक जीवन, घरबार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैंगिक हिंसाबाट प्रभावित महिला, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरू, प्रेममा असफल व्यक्तिहरू, ठूलो आर्थिक हानिनोक्सानीमा परेका व्यक्तिहरू, जीवनदेखि हरेस खाएकाहरू, आत्मविश्वास गुमाएका व्यक्तिहरू र विगतमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा रहने मनोविद् रावतले बताए।