दलाई लामाको अभिव्यक्तिपछि तिब्बतीहरूमा खुसीयाली

हिमाल प्रेस १९ असार २०८२ १२:२८
18
SHARES
दलाई लामाको अभिव्यक्तिपछि तिब्बतीहरूमा खुसीयाली भारतको धर्मशालामा बुधबार तिब्बती आध्यात्मिक नेता दलाई लामाको रेकर्ड गरिएको भिडियो सन्देश हेरिरहेका तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायका भिक्षुहरू। तस्बिर : एपी/रासस

काठमाडौँ- तिब्बतका निर्वासित आध्यात्मिक गुरु दलाई लामाले उत्तराधिकारी सम्बन्धमा दिएको सन्देशपछि तिब्बती मूलका मानिसहरू खुसी भएका छन्। लामाले बुधबार एक सन्देश दिँदै दलाई लामाको संस्था भविष्यमा पनि जारी रहने बताएका थिए। दलाई लामाको निधनपछिसमेत संस्थाले उत्तराधिकारी पाउने भन्दै तिब्बतीहरू खुसी भएको बीबीसीले जनाएको छ।

तिब्बती बौद्ध धर्मका अनुयायी तेन्जिन छेमे भन्छन्, ‘म आज निकै खुसी छु।  यस निर्णयका लागि हामी सबै तिब्बती र बौद्ध समुदायले प्रार्थना गरेका थियौँ, र त्यो प्रार्थना आज पूरा भयो।’ उनले अर्को दलाई लामाको खोजी कस्तो हुन्छ, कहिले हुन्छ भन्ने विषयमा अहिले हतार गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए।

केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता तेन्जिन लेकसेय अर्का उत्तराधिकारीको पुनर्जन्मबारे निर्णय गर्ने अधिकार दलाई लामाकै रहेको बताए। ‘सबैलाई विश्वास छ- परम पावनको पुनर्जन्मबारे निर्णय गर्ने अधिकार उहाँकै हो। सबैको चाहना यही थियो। उहाँको संस्था निरन्तर रहोस्। यसभन्दा खुसीको कुरा अरू के हुन सक्छ र?’

तिब्बती बौद्ध भिक्षु लोबसाङ वाङ्दुले पनि आफू निकै खुसी भएको बताए। ‘दलाई लामाको पुनर्जन्म हुन्छ कि हुँदैन भन्ने कुरामा हामी चिन्तित थियौँ। आज दलाई लामाले घोषणा गर्नुभएकोले सबैजना धेरै खुसी भएका छन्।’

लामाले बुधबार भिडियो रेकर्डमार्फत दलाई लामाको संस्था भविष्यमा पनि रहिरहने बताएका थिए। उनको सन्देशले ‘भविष्यमा दलाई लामाको संस्था रहने कि नरहने?’ भन्ने अड्कलमा पूर्णविराम लगाए पनि अहिलेका दलाई लामाले जीवितै रहँदा आफ्नो पुनर्जन्मसम्बन्धी कुनै संकेत दिनेछन् भन्ने प्रश्न भने कायमै छ।

दलाई लामाको कार्यालयअन्तर्गत सञ्चालनमा रहेको गादेन फोडरङ ट्रस्टका उपाध्यक्ष सैमधोंग रिन्पोचेले भने, ‘दलाई लामाको संस्था चलिरहनेछ। १४औँ दलाई लामापछि पनि १५औँ दलाई लामा हुनेछन्। १६औँ दलाई लामा पनि हुनेछन्। यसबारे सहमति भइसकेको छ। उनीहरू कहिले आउँछन्, कसरी मान्यता प्राप्त गर्छन् भन्ने कुरा भने बिल्कुल फरक प्रश्न हुन्। जब समय आउँछ, त्यसबेला उहाँ (दलाई लामा) स्वयं निर्देशन दिनुहुनेछ।’

दलाई लामालाई मान्यता दिने सम्पूर्ण जिम्मेवारी गादेन फोडरङ ट्रस्टको हुनेछ, जुन ट्रस्ट दलाई लामाकै कार्यालयअन्तर्गत पर्छ।

निर्वासित तिब्बती सरकारका राष्ट्रपति पेम्बा छिरिङले भनेका छन्, ‘दलाई लामाको पुनर्जन्मलाई मान्यता दिने प्रक्रिया विशिष्ट तिब्बती बौद्ध परम्पराअनुरूप नै हुनुपर्छ। त्यसैले हामी जनवादी गणतन्त्र चीनले आफ्नो राजनीतिक लाभका लागि पुनर्जन्मको विषयको प्रयोग गरिरहेको कार्यको कडा निन्दा गर्छौँ। हामीले त्यसलाई कहिल्यै स्वीकार गर्ने छैनौँ।’

यो निर्णयले चीनलाई असहज पार्ने अपेक्षा गरिएको छ। चीनले पटकपटक आफूले मात्र नयाँ धार्मिक नेतालाई अनुमोदन गर्ने अधिकार राख्ने दाबी गर्दै आएको छ। चीनले पुनर्जन्म भएको व्यक्तिको खोजी तिब्बती क्षेत्रमै हुनुपर्ने अडान राखेको छ। जसले उत्तराधिकारी चयनमा चिनियाँ कम्युनिस्ट सत्तालाई नियन्त्रण दिन्छ।

चीनले भने दलाई लामाको सन्देशलाई अस्वीकार गरेको छ। चीनको परराष्ट्र मन्त्रालयले दलाई लामाको पुनर्जन्मका लागि चिनियाँ सरकारको स्वीकृति आवश्यक पर्ने स्पष्ट पारेको हो। साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियामा चिनियाँ कानुन, नियम, साथै ‘धार्मिक अनुष्ठान र ऐतिहासिक परम्परा’को पालन गर्नुपर्नेमा जोड दिएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘दलाई लामाका उत्तराधिकारीको पहिचान केवल ‘लटरी प्रणाली’मार्फत गर्न सकिन्छ जसमा नामहरू सुनको भाँडोबाट निकालिन्छन्।’

तेन्जिन ग्यात्सो सन् १९४० मा दलाई लामाको १४औँ अवतारका रूपमा चिनिएका हुन्। सन् १९५९ मा चिनियाँ सेनाले तिब्बतको राजधानी ल्हासामा भएको विद्रोह दमन गरेपछि उनी तिब्बतबाट भाग्न बाध्य भएका थिए। त्यसयता उनी भारतको धर्मशालामा बसोबास गर्दै आएका छन्। त्यहीँबाट उनले संसारभर यात्रा गर्दै तिब्बती जनताको स्वायत्तताका पक्षमा पैरवी गर्दै आएका छन्।

तिब्बती बौद्धहरूको विश्वास के छ भने दलाई लामाले आफू कुन शरीरमा पुनर्जन्म लिने भनेर चयन गर्न सक्छन्। यो परम्परा सन् १५८७ मा यो संस्थाको सुरुवात भएपछि १४ पटक दोहोरिइसकेको छ। लामाले विगतमा पनि आफ्ना उत्तराधिकारी चीनबाहिर जन्मिने बताएका छन्।

अर्का दलाई लामा को हुनेछन् भन्ने कुरा निर्धारण गर्न एक लामो र जटिल प्रक्रिया अपनाइन्छ। तिब्बती बौद्ध धर्ममा दलाई लामा छनोट गरिँदैन, खोजी गरिन्छ। दलाई लामाको मृत्युपछि उनी नयाँ शरीरमा पुनर्जन्म लिन्छन् भन्ने विश्वास छ। उनको निधनपछि वरिष्ठ भिक्षुहरू यस्तो बालकको खोजी गर्छन्, जो दलाई लामाको अर्को अवतार हो भन्ने विश्वास गरिन्छ।

 

प्रकाशित: १९ असार २०८२ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast