
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक अहिले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताएका छन्।
पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरेका हुन्।
उनले मुलुक अभिभावकविहीन भएको चर्चा गर्दै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए। अहिले कसैको डरभर नभएकोले राष्ट्रद्रोही कामहरू समेत गर्नपछि नपरेको अवस्था देखिएको उनको धारणा थियो।
धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएको चिन्ता प्रकट गर्दै उनले यस कारण आफूहरुले राजसंस्थाको आवश्यकता महसुस गरेको उल्लेख गरे।
उनले थपे, ‘राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि राजसंस्था हामीहरूको आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो।’
कार्यक्रममा पार्टीका नेताहरु डाक्टर विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अन्जना शाह रावललगायतले बोलेका थिए ।