
असार १४ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको जन्मदिनका अवसरमा मदन भण्डारी प्रतिष्ठानले आयोजना गरेको एउटा कार्यक्रममा मदन भण्डारीकी धर्मपत्नी नेपालको प्रथम महिला राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आउने घोषणा गर्नुभयो। मुलुकको सर्वोच्च पदमा दुई कार्यकाल बिताएर सेवा निवृत्त भएकी भण्डारी राज्यले उपलब्ध गराएको सेवासुविधामा सीमित भएर, पूर्वराष्ट्रपतिको सम्मानमा मात्र आफ्नो बाँकी समय बिताउन चाहनु भएन।
उहाँको घोषणाभित्र कति स्वेच्छा, कति कार्यकर्ताहरूको दबाब, कति दलगत आन्तरिक शक्ति संघर्षको परिणति र कति बाह्य शक्तिको चासो हो भन्ने विषय र आन्तरिक दाउपेचको कुरा समयक्रममा राजनीतिक परिदृश्यमा आउँदै गर्ला। तर अहिले जनमानसमा सार्वजनिक रूपमा बहसमा ल्याइएको कुरा के हो भने राष्ट्रपति हुँदा दलको सम्बद्धता त्यागेर, दलीय निष्पक्षता कायम गरेर राष्ट्रिय एकताको प्रतीक एवम् संविधानको संरक्षकका रूपमा रहेको व्यक्तिले पदीय गरिमा र सम्मानमा आघात पुग्ने गरी पुनः राजनीतिक प्रतिस्पर्धामा आउनु उचित होइन। यही कुरालाई यो आलेखमा दर्शाउन खोजिएको छ।
प्रथमतः सार्वजनिक सेवा भनेको पदीय हैसियतमा रहेर वा नरहेर, व्यक्तिगत रूपमा वा संस्थागत रूपमा, पारिश्रमिकसहित वा पारिश्रमिकरहित स्वयंसेवा गरेर जनताको सर्वोत्तोमुखी विकासका लागि प्रदान गरिने सेवा हो। यस किसिमको सेवा नीतिप्रधान भए राजनीतिक रूपमा र नीति, दैनिक प्रशासन, मर्यादा, कानुनको संरक्षक भए सार्वजनिक प्रशासनमा बसेर गर्न सकिन्छ। राज्यको नीतिप्रधान ठाउँमा बसेर राजनीतिक अभीष्ट साध्यका लागि राजनीतिक दलहरू गठन र सञ्चालन गरिएका हुन्छन्। लोकतन्त्रको बलियो पक्ष भनेको जनमतमा आधारित राजनीतिक विचारहरूका लागि समान अवसरको उपलब्धता हो। यस्तोमा वैचारिक स्वतन्त्रताको उपभोग मात्र नभएर व्यक्तिगत स्वतन्त्रताको पक्षपोषण गरिन्छ।
व्यक्तिको राजनीतिक निष्ठा, उमेर, दक्षता, विज्ञता, चाहना, समर्पण र अन्ततः जनमतले उसको सेवाको अपरिहार्य निर्धारण गर्दछ। लोकतन्त्रमा राजनीति एउटा प्रतिस्पर्धा पनि हो। प्रतिस्पर्धामा सधँै वैचारिक श्रेष्ठता र विज्ञता नै निर्णयक हुँदैन। सांगठनिक दक्षता, जनसम्पर्क र जनमत बलियो आधार बन्दछ सार्वजनिक सेवामा वैधताका लागि। तर जे भने पनि उमेरको एउटा स्तरमा पुगेपछि र पदीय मर्यादाको उचाइमा पुगेपछि सधैँ त्यहीँ टिकेर रहन सकिँदैन। जसरी एउटा पर्वतारोही सगरमाथाको शिखरमा लामो समय टिकेर बस्न सक्दैन, त्यसैगरी सर्वोच्च पदमा आसीन भएको व्यक्ति पनि एक दिन बाहिरिनुपर्छ। लोकतन्त्रको सबल पक्ष भनेको यही हो।
विभिन्न मुलुकका संवैधानिक व्यवस्थाले पनि यस किसिमको प्रतिबन्धात्मक र प्रबन्ध गरेको देखिन्छ। उदाहरणका लागि अमेरिकामा दुई पदावधिका लागि भन्दा बढी राष्ट्रपति हुन पाइँदैन। अतः अरु तन्त्रमा जस्तो लोकतन्त्रमा राष्ट्रपति कुर्सीमा टाँस्सिएर बस्न सक्दैन। लोकतन्त्रमा खास भन्ने हो भने केही समय आफ्नो नीति तथा कार्यक्रम लागू गर्न पदमा रहेर काम गरिसकेपछि स्वेच्छाले पद त्याग गरिनुपर्दछ। नेपालका नेताहरूमा यो नैतिकता स्यालको सिङ खोजेजस्तो हो। पदलोलुपता यतिसम्म जब्बर छ कि सकेदेखि मरोणपरान्त पनि पदमा नै टाँस्सिएर बस्ने थिए हाम्रा नेताहरू।
राष्ट्रपति वा प्रधानमन्त्रीजस्तो शिखर पदमा पुगेर सेवानिवृत्त भएका धेरैजसो व्यक्ति संस्मरणहरू लेखेर, घरायसी काममा, खेती किसानी गरेर, कटाकेटीहरूलाई कथा सुनाएर वा जीविकाका केही आधारहरू खोजेर बसेका देखिन्छन्। आफूलाई राजनीतिक रूपमा सीमान्तकृत भएको रूपमा लिन्छन्। हुन पनि पदबाट विमुख हुनेबित्तिकै अनुहारमा राजश्री ओज गुम्छ। हातमा राजकीय शक्ति नभएपछि उसको उपयोगिता सकिएको ठान्छ समाजले। राज्यको राजकीय पद, शिखर व्यक्तित्व, प्रतिष्ठा, मानमर्यादा, अघिपछि सुरक्षा घेरा, लाभका अपेक्षा राख्नेहरूको चाकरीले उसको लोक आलोक भएको हुन्छ। वास्तविक धरातलमा फर्किन उस्लाई कठिन हुन्छ।
यही कारण हो मानिस पदमा टिकिरहन चाहन्छ। तर लोकतन्त्रलाई जीवनको आधारभूत मान्यतामा रमाउनेहरू पदीय मर्यादालाई क्षणिक मान्दछन् र पदमुक्त भएपछि आफ्नो स्वाभाविक जीवनको लयमा रमाउन पुग्छन्। कोही कोही त निजी क्षेत्रमा गएर काम गरेका उदाहरणसमेत छन्।
बारबरा गिड्सले सन् २००२ मा प्रकाशित आफ्नो लेख ‘द ग्रेट ट्रान्सफरमेसन इन दि स्टडी अफ पोलिटिक्स इन डिभलपिङ कन्ट्रिज’ मा राजनीतिको महत सिद्धान्तको दिग्दर्शन गर्दै निरन्तर आफ्नो राजनीतिक करियरको फैलावट र प्रवद्र्धन गर्नु नै उनीहरूको पहिलो प्राथमिकता रहेको हुन्छ भनेर भनेकी छन्। त्यसमाथि विकासशील देशका राजनेताहरू यस अर्थमा बढी संवदनशील देखिन्छन्।
केही उदाहरणहरू हेरौँ-
बेलायतका लेबर प्रधानमन्त्री टोनी ब्लेयर सेवा निवृत्त भएपछि जेपी मोग्र्यानसँग जोडिन पुगे। त्यसैगरी अर्का प्रधानमन्त्री जोन मेजरले कार्लाइल ग्रूपमा सेवा प्रदान गरे। अरु त के कुरा आइरन लेडी भनेर प्रख्यात मार्गरेट थ्याचरले समेत बेलायतको पधानमन्त्रीबाट पदमुक्त भएपछि फिलिप मोरिस नामक चुरोट उत्पादक कम्पनीसँग आबद्ध भएर कन्सलट्यान्टका रूपमा काम गरिन्। पूर्वअमेरिकी राष्ट्रपति ग्रोभर क्लिभल्यान्ड र काल्भिन कुलिजले बिमा कम्पनीहरूमा सेवा प्रदान गरेका थिए।
पूर्वराष्ट्रपति तथा प्रधानमन्त्रीले पदमुक्त भएपछि व्यापारिक प्रतिष्ठानहरूमा सेवा प्रदान गरेका यस्ता अरु धेरै उदाहरण छन्। यस किसिमका कामलाई पूर्व राजनयिक अतिविशिष्ट व्यक्तिहरूका लागि आफू सेवानिवृत्त भएको अनुभूति नहोस् भन्नाको खातिर र जीवनलाई उत्पादनशील कार्यमा उर्जाशील नै राख्न अपनाइने रोजगारको विधिलाई सार्वजनिक सेवामा ‘चौथो पथ’ नामकरण गरिएको छ। यसले सार्वजनिक तथा निजी क्षेत्रको ‘थर्ड सेक्टर’ को अवसरहरू भन्ने बुझिन्छ।
कति व्यक्तिहरू मिडियामा काम गर्न पुगेका छन् भने कति सामाजिक संस्थामा। कतिपय पूर्वराष्ट्रपति तथा पूर्व प्रधानमन्त्रीहरू अध्यापन पेसामा फर्किएका थिए। अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा सिकागो विश्वविद्यालयमा पढाउन गएका थिए। कतिपय अवस्थामा आफ्नो उपयोगिता अझै रहेको र आफू सक्षम रहेको भन्ने प्रमाणित गर्न सक्रिय राजनीतिमा वा अन्य पेसागत क्षेत्रमा प्रवेश गर्ने गरेका छन्।
न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री रोबर्ट मुल्डोनले त नाट्यशालामा नै काम गरेका थिए। उनले कही समय रेडियो र टेलिभिजनमा समेत काम गरे। उत्पादनशील क्षेत्रमा लाग्ने कुराहरूलाई पदमुक्त पदाधिकारीको शारीरिक, मानसिक तथा उपलब्ध भौतिक तथा आर्थिक स्रोतको अवस्था र उपलब्धताले निर्धारण गर्दछ। गैरनाफामूलक संस्था वा गैरसरकारी संस्था खोलेर सामाजिक कार्यमा रहमाउने पनि छन्।
राज्यले दिएको सुविधालाई उनीहरू व्यक्तिगत लाभका लागि भन्दा पनि राजकीय सम्मानका लागि र राज्यको नीति निर्माणमा सहयोगी भूमिका कसरी निर्माण गर्न सकिन्छ भनेर अध्ययन प्रतिवेदनहरूको आधारमा वा सामाजिक सेवाका माध्ययमबाट पृष्ठपोषण गर्दछन्। बौद्धिक राष्ट्रपतिहरू कुनै विश्वविद्यालयको प्राध्यापक हुन रुचाउँछन् भने कतिपय पूर्वविशिष्टहरू आफूले आर्जन गरेको ज्ञान तथा सीपबारे विश्वविद्यालयहरूमा लेक्चर दिएर पनि बस्ने गरेका छन्। नेपालमा त्यस किसिमको अभ्यासको अपेक्षा गर्नु नै पनि असान्दर्भिक देखिन सक्छ।
एकपटक राष्ट्रपति भइसकेको व्यक्ति उक्त पदभन्दा कनिष्ट पदमा झरेर सेवा गरेको पनि प्रशस्त उदाहरण छन्। अमेरिकाको पूर्वराष्ट्रपति जोन क्विन्सी आदम्सपछि प्रतिनिधिसभाका लागि निर्वाचित भएर सांसद भएका थिए। त्यस्तै अर्का व्यक्ति थिए जोन टेलर, जसले राष्ट्रपतिको पदपछि कन्फिडरेट प्रोभिजनल कंग्रेसको डेलिगेट भएर सेवा गरेका थिए। जेम्स मेडिसन र जेम्स मुनरो भर्जिनिया कन्टिटुसनल कन्भेन्सनको प्रतिनिधि भएका थिए।
यस सम्बन्धमा सबैभन्दा रोचक प्रसंग वर्तमान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको छ। पटकपटक राष्ट्रपति भइसकेको र संवैधानिक प्रावधानका कारणले पुनः राष्ट्रपति पदमा रहन अयोग्य भएका कारण उनले राष्ट्रपतिबाट पदमुक्त भएपछि त्यो भन्दा मुनिको कनिष्ट प्रधानमन्त्रीको पदमा गएर सेवा गरे। उनी राष्ट्रपतिको पदमा पुनर्निर्वाचित भएर सेवा गर्दै आएका छन्। सम्भवतः शीर्ष तहमा रहेर लामो समयसम्म मुलुकको सेवा गर्ने राजनेताहरूमध्येमा उनी पनि पर्नेछन्।
बेल्जियमका पूर्वप्रधानमन्त्री जिनलक डेहानले पछि मेयरका रूपमा सेवा गरे। बेनिनका पूर्वराष्ट्रपति निसेफोर सोग्लोले पनि पछि कोटनु सहरको मेयर भएर सार्वजनिक सेवा गरेका थिए। इक्वेडरका पूर्वराष्ट्रपपति लियोन फेब्रे कोरडेरोले पनि मेयर भएर काम गरेका थिए। कोलम्बियाका केही पूर्वराष्ट्रपतिहरूलाई राजदूतका रूपमा नियुक्त गरिएका उदाहरण छन्।
अन्तर्राष्ट्रिय संघसंगठनहरूमा गएर सेवा प्रदान गर्नेहरूको सूची लामै छ। आइरिस राष्ट्रपति मेरी रबिन्सन मानवअधिकारका लागि उच्च आयोगमा कमिस्नर भएका थिए भने नर्बेका प्रधानमन्त्री ग्रो हार्लेम ब्रुन्टल्यान्ड विश्व स्वास्थ्य संगठनको महानिर्देशक भएका थिए।
नेपालकै सन्दर्भमा पनि प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला अमेरिकाका लागि राजदूत नियुक्त भएर गएका थिए। त्यसैगरी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि नेपालका राजदूत भएर गएका थिए।
अहिले नेपालमा पूर्वराष्ट्रपति पुनः दलिय राजनीतिमा फर्किएको विषयमा जुन विवाद देखिएको छ त्यो सैद्धान्तिक रूपमा भन्दा पनि व्यावहारिक र नैतिक धरातलमा गरिएको देखिन्छ। राजनेताहरू जीवन पर्यन्त क्रियाशील रहने भएकाले एक पटक माथिल्लो पदमा सेवा गरिसकेपछि त्यो भन्दा तल्लो पदमा बेसर काम गर्दा पदीय मर्यादामा आघात पर्दछ भनेर सोच्नु हुँदैन।
पूर्वअमेरिकी राष्ट्रपति जोन क्विन्सी आदम्सको भनाइमा ‘जनताको प्रतिनिधिका रूपमा जनताले निर्वाचित गरिसकेपछि कुनै पनि पदमा बसेर सेवा गर्दा सानो भन्ने हुँदैन र त्यसले व्यक्तिको कद घट्दैन।’ यो कुरा जुन जे कारणले भए पनि सक्रिय राजनीतिमा प्रवेश गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हकमा पनि लागू हुन्छ।
यहाँ सोच्नुपर्ने मूल प्रश्न यो हो- राष्ट्रपति पदलाई कसरी निष्पक्ष, गैरदलीय, राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षकका रूपमा स्थापन गरिने? यसको उत्तर व्यक्तिको निष्ठा, नैतिकता र चरित्रमै निहित हुन्छ। प्रश्न यो पनि उठ्छ- के हामी पदीय मर्यादा जोगाउने बाटो रोज्छौँ वा दलीय स्वार्थबाट प्रेरित भई व्यक्तिगत सफलताको कथा रच्ने दिशामा लाग्छौँ? निर्णय आखिर व्यक्तिगत विवेकले हुने हो कि बाह्य दबाब, उत्प्रेरणा वा उक्साहटको परिणामस्वरूप? विचार प्रत्येक व्यक्तिको आफ्नै हुन्छ, तर मार्गचाहिँ ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को हुनुपर्छ।