ग्रेलिस्टबाट निस्कन सुनचाँदीमा विलासिता कर : अर्थमन्त्री पौडेल

हिमाल प्रेस १८ असार २०८२ १७:२७
22
SHARES
ग्रेलिस्टबाट निस्कन सुनचाँदीमा विलासिता कर : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को खैरोसूची (ग्रेलिस्ट) मा रहेको र मुलुकलाई त्यस सूचीबाट हटाउन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाइएको बताएका छन्।

विनियोजन विधेयक, २०८२ माथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रेलिस्ट’ बाट निकाल्न सुनचाँदी तथा गरगहना खरिदबिक्रीको कारोबारलाई पारदर्शी बनाउन आवश्यक रहेको बताएका हुन्। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै प्रकारका गरगहना र सुनचाँदी खरिदमा विलासिता कर लगाउने निर्णय गरेको थियो।

‘पहिले पनि १० लाखभन्दा माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लाग्दै आएको थियो। अहिले त्यसमा लगाइएको सीमा (थ्रेसहोल्ड) हटाइएको मात्र हो’,अर्थमन्त्री पौडेलले भने,‘हामी सम्पत्ति शुद्धीकरण मामिलामा एफएटिएफको सघन निगरानी सूचीबाट बाहिर निस्कनका लागि सुनको कारोबार पारदर्शी बनाउन आवश्यक थियो। सुनलगायतका वस्तुको कारोबारमा शुद्धता होस् र सम्पत्ति शुद्धीकरणको रकम त्यहाँ लगानी नहोस् भनेर विसासिता शुल्क लगाइएको हो।’

विलासिता करका विषयमा सुनचाँदी व्यवसायीहरूले विरोध जनाइरहेकोमा उनीहरूसँग छलफल भइरहेको र चाँडै सार्थक निष्कर्ष निस्कने विश्वास पनि उनले व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast