
ललितपुर– ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ।
महानगर र राष्ट्रिय बिमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सहमतिपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टीएचपी) को भने सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको छ। कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो।
ललितपुर महानगरले दुई वर्षअघि पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम थालेको हो। यल स्वास्थ्य केन्द्र मार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन्।
प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ काम गरेको बताए। उनले भने, ‘महानगरले महानगरवासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो।’ उनले कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको बताए।
महानगरका प्रवक्ता राजु महर्जनले महानगरवासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँर्दै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्त्वपूर्ण भएको बताए।
राष्ट्रिय बिमा बोर्डका रघुराज काफ्लेले कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बिमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए।