
काठमाडौँ- समाज रूपान्तरणमा संगीत, नृत्य र नाट्यकर्मी महिलाको भूमिका महत्त्वपूर्ण रहेकाे सराेकारवालाहरूले बताएका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले मंगलबार ‘समाज रूपान्तरणमा संगीत, नृत्य र नाट्यकर्मी महिला’ विषयक अन्तक्रिया कार्यक्रममा उनीहरूले यस्ताे बताएका हुन्।
प्रतिष्ठानले नक्सालस्थित आफ्नै सभाकक्षमा गरेकाे कार्यक्रममा संघीय संसदका माननीय उपसभामुख इन्दिरा राना प्रमुख अथितिका रूपमा उपस्थित थिइन्। उपसभामुख रानाले नेपालको सामाजिक रुपान्तरणमा महिला कलाकर्मी र पुरुषको बराबरी योगदान रहेको बताइन्। ‘कुनै समयमा महिलाले नाच्न र हाँस्न नहुने अवस्था थियो। महिला कलाकर्मीको निरन्तर योगदानले परम्परा परिवर्तन हुँदै गएको छ। अब महिला कलाकर्मीले कलाका माध्यमबाट सामाजिक रूपान्तरणमा अघि बढ्नुपर्छ र यसकाे लागि एकल हाेइन समुहमा यात्रा गर्नुपर्ने हुन्छ,’ उनले भनिन्। कलाकर्मीकै निरन्तर योगदानले समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भइरहेको उनको बुझाइ थियो।
प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मी अत्यन्तै ठूलो योगदान रहेको उल्लेख गरे। प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ ले समाज रुपान्तरणमा भूमिका खेलेका संस्कृतिकर्मीको सम्मान, खोज र उचित मूल्यांकनन हुनुपर्ने धारणा राखे।
कार्यक्रममा संगीत, नृत्य र नाट्यकर्मी महिलाले समाज रुपान्तरणमा खेलेको भूमिकाबारे छुट्टाछुट्टै तीन कार्यपत्र प्रस्तुत गरिएको थियो। डा. विन्दु शर्माले प्रस्तुत गरेको नाट्यसम्बन्धी कार्यपत्रमाथि त्रि.वि.का उपप्राध्यापक डा. अशोक थापाले टिप्पणी गरेका थिए। उनले वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय आदि क्षेत्रमा गरिने विभेदप्रति प्रतिरोधी एवम् कलाचिन्तनमा सचेत बनेर महिला नाट्यकर्मी अघि बढ्न जरूरी रहेको बताए। उनले नेपालका राजनीतिक परिवर्तनले नाट्यकला र महिलामा पारेको प्रभावलाई गहिरो पले विश्लेषण गर्न आवश्यक रहेको औंल्याए।
नृत्यकर्मी महिलाले समाज रुपान्तरणमा पारेको प्रभावबारे कल्पना राजचल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले २००७ सालको राजनीतिक परिवर्तनपछि समाजको समग्र परिवर्तन र रूपान्तरणमा लैंगिक विभेदको विमर्श सुरू भएको उल्लेख गरिन्।
२०४६ सालको खुला राजनीतिक वातावरणपछि सांस्कृतिक आन्दोलन, राजनीतिक दल सम्बद्ध सांस्कृतिक संगठन र राज्यका विभिन्न श्रव्यदृश्य माध्यममा महिला नृत्यकर्मीको संलग्नता बढ्दै गएको उल्लेख गरिन्। अहिले समाजले नृत्यकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन पर्याप्त नभएकोसमेत चर्चा गरिन्।
कार्यपत्रमाथि टिप्पणी गर्दै नृत्यविज्ञ डा. लोकनाथ दुलाले कार्यपत्र वैज्ञानिक र अनुसन्धान प्रणालीमा आधारित हुनुपर्ने औंल्याए। उनले कला मनोरञ्जन, धार्मिक, व्यवहारिक र ज्ञान गरी चार चरणमा विकसित भइसकेको बताए। उनले नृत्यकर्मी महिलाले समातामूलक समाज निर्माण, समावेशी तथा प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागिता, आर्थिक, शैक्षिक सशक्तीकरण, राजनीतिक सहभागिता आदि क्षेत्रमा के कस्तो भूमिका खेले भन्ने पहिल्याउनुपर्नेमा जोड दिए।
संगीतकर्मी महिलाको भूमिकाबारे गायिका सीता आचार्यले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले नेपाली संगीतकर्मीको समग्र प्रवृत्ति पुँजीवादी, सुधारवादी र प्रगतिशील/प्रगतिवादी धारामा आधारित रहेको निष्कर्ष निकालिन्। उनले प्रगतिशील/प्रगतिवादी धाराका महिला संगीतकर्मीको समाज रूपान्तरणमा ठूलो भूमिका रहेको दाबीसमेत गरिन्।
सशस्त्र जनयुद्धकालमा आफैं पनि सांस्कृतिक मोर्चामा सक्रिय सहभागी गायिका आचार्यले नेपाली संगीतको विकासक्रमको व्याख्यासमेत गरिन्। समाज रुपान्तरणमा हिँडेका थुप्रै संस्कृतिकर्मी महिलाले जीवन आहुति दिएको तथ्यलाई बिर्सन नहुने उनको जिकिर थियो।
कार्यपत्र प्रगतिवादी दृष्टिकोणबाट लेखिनु राम्रो भएको संस्कृतिकर्मी हेमराज आश्रमले बताए। उक्त कार्यपत्रले प्रगतिवादी विचार पक्षधरप्रति केही बढी झुकाव राख्नु निश्पक्षतामा प्रश्न उठ्न सक्ने विचार व्यक्त गरे।
कार्यपत्रमाथि नृत्यविद् भावना कार्की, नाट्यविद् प्रवीण पुमा, विक्रम मैनाली, जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखी, वरिष्ठ नाट्य निर्देशक वीरेन्द्र हमाल, नाट्यकलाकार रिमा रिमाललगायतले सुझाव दिएका थिए।