समाजवादीमा गुटगत ध्रुवीकरण चर्कियो

अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, खनाल-भुसालको मौनता, झाँक्रीसँग सोधियो स्पष्टीकरण, विद्यार्थी-युवा संगठनमा समानान्तर कमिटी

किरण पौडेल १८ असार २०८२ १४:४९
110
SHARES
समाजवादीमा गुटगत ध्रुवीकरण चर्कियो

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा मुछिएपछि गुटगत संघर्ष सतहमा आउन थालेको छ। नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जली समूहलाई दिएको सरकारी जग्गासम्बन्धी निर्णयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि पार्टी आन्तरिक रूपमा ध्रुवीकृत बन्न थालेको हो।

अध्यक्ष नेपालले उक्त मुद्दामा ३५ लाख रुपैयाँ धरौटी बुझाएरका छन्। विवादित विषयको फैसला हुन बाँकी छ। यसै बेला पार्टीभित्र नेपालले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ। उनी पक्षधर नेताहरू राजीनामा दिन नपर्ने अडानमा छन्।

समाजवादी नेत्री रामकुमारी झाँक्रीले नेपालको विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएकी छन्। नेपाल अध्यक्ष र संसदीय दलको नेता थिए। उनको सांसद पद निलम्बनमा परेपछि अहिले दलको नेतासमेत रिक्त छ। त्यसैले विकल्प खोज्नुपर्ने झाँक्रीको भनाइ छ। नेतृत्वविरुद्ध गलत अभिव्यक्ति दिएको भन्दै झाँक्रीसँग पार्टीले स्पष्टीकरण सोधेको छ।

झाँक्रीले गत शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै झाँक्रीले कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आएकाले अर्ली महाधिवेशन गर्नुपर्ने धारणा सार्वजनिक गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन? गरौँ न त अर्ली महाधिवेशन गरौँ। हलबाट नेतृत्व छानौँ।’

नेपाल इतरपक्षधर नेताहरूले उनीसँग सम्बन्ध बिग्रिने डरमा औपचारिक रूपमा कुरा राख्न सकेका छैनन्। झाँक्रीले नेपालको राजीनामाको कुरा उठाउँदा पार्टीको एक तप्काले समर्थन गरेको छ। यसमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत छन्।

त्यसो त समाजवादीमा जुनसुकै विषयमा विवाद हुन्छ र गुटगत रूपमा फैलिन्छ। नीतिगतदेखि नेतृत्व चयनमा गुटको प्रभाव रहँदै आएको छ। नेताहरूका अनुसार नेपालले पछिल्लो समय जनवर्गीय संगठनमा आफू अनुकूल नेतृत्व चुन्दै आएका छन्। सोही कारण खनाल पक्षधर नेता संस्थापनविरुद्ध छन्।

नेपालविरुद्ध परेको मुद्दामा समेत खनाल पक्षधर नेता ‘मौन’ थिए। पतञ्जलि जग्गा प्रकरणमा नेपालमाथि ‘प्रतिशोध हो’ भनेर समाजवादीले जिल्ला-प्रदेशलाई निर्देशन दिएको थियो। तर ७७ जिल्ला कमिटीमध्ये केहीले मात्र नेपालको पक्षमा विज्ञप्ति निकालेका छन्।

खनाल निकट मानिने नेताहरूले विज्ञप्तिबारे मौनता साँध्दा जिल्ला कमिटीले विज्ञप्ति ननिकालेको स्रोतको भनाइ छ। समाजवादीमा ‘बिसाएको’ विवाद फेरि बल्झिन थालेको छ। जनवर्गीय संगठनका विवादका कारण समानान्तर कमिटी बन्न थालेका छन्। विद्यार्थी र युवाहरू नेतृत्वको विपक्षमा रहँदै आएका छन्।

समानान्तर बनाउन थाले विद्यार्थी

समाजवादीमा लामो समयदेखि चलिरहेको दुई लाइन संघर्ष विद्यार्थी संगठनमा विस्फोट भएको छ। पार्टी निकट अनेरास्ववियूमा नेपाल पक्षधरको वर्चस्व रहेको भन्दै इतर पक्षधरले समानान्तर कमिटी बनाएको छ।

यसअघि नेपाल पक्षले अध्यक्षको जिम्मेबारी निवर्तमान महासचिव महेश श्रेष्ठलाई दिएको थियो। खनाल पक्षले श्रेष्ठको नेतृत्वलाई असहमति जनाएको थियो। संस्थापन पक्षले महासचिवमा राजन शर्मा पराजुलीलाई मनोनीत गरेपछि फेरि अन्तरसंघर्ष चुलियो। केही दिनअघि श्रेष्ठ-शर्मा पक्षले सर्कुलर जारी गरेपछि त खनाल पक्षधर नेता आक्रोशित बनेका छन्।

उनीहरूले दुई दिनको छलफल पश्चात नयाँ कमिटी बनाएका छन्। खनाल पक्षले नरेश न्यौपाने नेतृत्वको समानान्तर कमिटी गठन गरेको छ। जसमा पदाधिकारीसहित १६७ सदस्य केन्द्रीय कमिटी बनेको छ।
संस्थापन पक्षले आफ्नो कुरा नमानेका कारण अर्को समिति बनाएको खनाल पक्षका महासचिव प्रकाश श्रेष्ठ बताउँछन्।

‘यसअघिको पदाधिकारीमै हाम्रो असहमति थियो तर एकाएक नयाँ सर्कुलर आएपछि हामीले नयाँ समिति बनाएका हौँ’, महासचिव श्रेष्ठ भन्छन्,‘ इन्चार्ज (रामकुमारी झाँक्री) को समेत भनाइ मान्य भएको छैन।’
खनाल पक्षधर नेता यसअघि नै समानान्तर बनाउने तयारीमा थिए। सम्मानित नेता खनालले पार्टीमा कुरा उठाउने बताएपछि उनीहरू मौन थिए। अहिले फेरि संस्थापन पक्षले नयाँ रणनीति बनाएपछि ‘काउन्टर’ दिएको खनाल पक्षधर नेताहरूको भनाइ छ।

एमाले विभाजन भएर समाजवादी बन्दा अध्यक्ष नेपाल निकट सुदेश पराजुली र महासचिवमा खनाल निकट आरती लामा चयन भएका थिए। पराजुलीले संगठन छाड्दा आरती अध्यक्ष बनिन् भने महासचिवमा नेपाल निकट महेश श्रेष्ठ नियुक्ति भए। महेश अध्यक्ष बन्दा नेपाल निकट राजन शर्मा पराजुली महासचिव बनेपछि खनालपक्षधर नेताहरू तिक्ता छ।

युवा संघमा समानान्तर तयारी

समाजवादीको युवा संघमा पनि विवाद बढेको छ। यसअघि नेपाल पक्षधरले अध्यक्षमा रोशन थापा अध्यक्ष बनाएपछि खनाल पक्षधर तिक्त बनेको थियो। नेपाल पक्षले सल्लाहबिना नै आफू अनुकूल अध्यक्ष बनाएको भन्दै खनाल पक्षधरले असन्तुष्टि जनाएको थियो। खनाल निकट नेताहरूका अनुसार आफ्नो समूहबाट सञ्जीव राई अध्यक्षको दाबेदार रहेको बेला एकाएक थापालाई ल्याइएको थियो।

‘हामी समानान्तर बनाउने तयारीमा थियौँ। अध्यक्ष कमरेड (माधव नेपाल)लाई मुद्दा लागेर स्थगित गरेका छौँ,’ खनाल पक्षधर एक नेता भन्छन्, ‘अब पार्टीको सचिवालय बैठकपश्चात समानान्तर बनाउँछौँ।’

नेताहरूका अनुसार नेपालपक्षले सबैतिर पेल्दा आफूहरू समानान्तार गतिविधिमा लागेका हुन्। युवा संघमा समेत पार्टी स्थापनाबाटै गुटगत गतिविधि चल्दै आएको छ। संस्थापन अध्यक्ष नरेश शाही बाहिरिएपछि नेतृत्व लिने क्रममा तिक्तता आएको थियो। खनाल पक्षधर शाहीले छाड्दा कृष्ण विश्वकर्मालाई नेतृत्व दिएपछि संस्थापन पक्षले समानान्तर गठन गर्दै नितेश पौडेललाई अघि बढाएको थियो।

पार्टी महाधिवेशनपछि विवाद साम्य भए पनि विकलाई एकाएक नेतृत्वबाट झिकेपछि विवाद बढेको थियो। नेपालले सर्कुलरमार्फत विकलाई केन्द्रीय सदस्य बनाएपछि खनालपक्ष रुष्ट बनेको थियो। यसपछि अध्यक्षमा थापालाई ल्याएपछि त भाँडभैलो मच्चियो।

‘छद्म भेष’मा जनसंगठन उचाल्छन् नेता

समाजवादीमा सबै कमिटीमा तिक्तता छ। सबैतिर खनाल-नेपालमा विभाजित बनेका कारण कित्ताकाट भइरहेको नेताहरू सुनाउँछन्। नेताहरूका अनुसार पार्टी नेतृत्व तहमा समझदारी नहुने कारण विवाद बढेको हो।

‘हाम्रा केन्द्रीय नेताहरूमा पनि समझदारी हुँदैन। सैद्धान्तिक कुरा गर्ने र व्यावहारिक कुरामा ध्यान नदिँदा तल्लो तहमा गुटबन्दी बढेको हो’, एक नेता भन्छन्।

अर्को कुरा, केन्द्रीय नेता छद्म रूपमा समानान्तर गतिविधिमा लाग्ने गरेको छ। ‘माथिल्लो स्तरमा बोल्न नसक्ने, तल्लो स्तरमा लाग भन्ने तर जिम्मा नलिने कारण हामी कमजोर बन्यौ।’ एक नेता बताउँछन्।
पार्टीमा नेपाल-खनालसँगै महासचिव घनश्याम भुसाल पनि गुटबन्दीमा सक्रिय छन्। तर उनी गुटबन्दी नगरेको देखाउन मौन रहेको नेताहरू सुनाउँछन्।

‘भुसालका स्वकीय सचिवलाई समानान्तर कमिटीमा राखिएको थियो। तर एकाएक सामाजिक सन्जालमार्फत नरहेको बताए,’ समाजवादीका एक नेता भन्छन्, ‘हिजोसम्म महासचिव(भुसाल) समानान्तर बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो। आज स्वकीय सचिवसमेत राजीनामा दिन लगाउनुभयो।’ नेपालविरुद्ध खुल्ने सम्मानित नेता खनालसमेत गुटमै व्यस्त छन्। उनी खुलेर गुट नगरेको देखाउने गरेका छन्।

‘नेपालमाथि मुद्दा लाग्दा समेत अध्यक्ष छाडेका छैनन्। यो कुरामा खनाल-भुसाल नै सन्तुष्ट छैनन्। तर बोल्न सकेका छैनन्,’ खनाल पक्षका एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा समेत कसैले यसबारे कुरा उठाइदिए हुन्थ्यो भन्नेमा छन्।’ खनाल पक्षधर एक नेताका अनुसार यसअघिको पदाधिकारी बैठकमा पनि कसैले पनि नेपाललाई राजीनामाको कुरा उठाउन सकेनन्।

अध्यक्ष नेपाल निकट नेता सुदेश पराजुलीले समस्या समाधान हुँदै जाने दाबी गर्छन्। ‘ध्रुवीकरण देखिए पनि समाधानको प्रक्रिया जारी छ’, उनी भन्छन्।

पार्टीभित्रका असन्तुष्टि र समानान्तर गतिविधिहरू हेर्दा समस्या तत्काल समाधान हुने संकेत देखिँदैन। समाजवादीमा नेतृत्वको भूमिकामाथि प्रश्न उठ्नुका साथै संस्थागत संरचनाहरूमा द्वैध नेतृत्वले पार्टी एकतालाई गम्भीर चुनौती दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast