गर्मीले अस्तव्यस्त युरोप

हिमाल प्रेस १८ असार २०८२ ७:२६
14
SHARES
गर्मीले अस्तव्यस्त युरोप चर्को तापबाट जोगिनका लागि छाता ओडेर लन्डनको ह्वाइटहलस्थित क्याबिनेट अफिसबाहिर ड्युटीमा खटिएका सुरक्षा गार्ड। तस्बिर : एएफपी/रासस

काठमाडौँ- युरोपमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्य, वातावरण र आर्थिक गतिविधिमा गहिरो असर परेको छ। स्पेन, फ्रान्स, इटाली, जर्मनीदेखि ग्रिस र बाल्कनसम्मको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ।

जलवायु परिवर्तनकै प्रत्यक्ष प्रभावको रूपमा लिइएको गर्मीले संयुक्त राष्ट्रसंघदेखि स्थानीय सरकारसम्मलाई आपत्‌कालीन तयारीमा राखेको छ। युरोपभरि तातो हावा र उच्च तापक्रम जारी छ।

स्पेन र बेलायतले जुन महिनामा अहिलेसम्मकै सबैभन्दा तातो अनुभव गरेका छन्।

स्पेनको मौसम विभागले जुन महिना ‘अत्यन्तै तातो’ रहेको जनाएको छ। त्यहाँको औसत तापक्रम २३.६ डिग्री सेल्सियस थियो। यो तापमानले जुलाई र अगस्ट महिनाको सामान्य औसत तापक्रमलाई पनि पार गरिदिएको बताइएको छ।

स्पेनको मौसम विभागले जुलाई १ को रातभरि इबेरीयन प्रायद्वीपका धेरै स्थानमा तापक्रम ४३ डिग्री सेल्सियस भन्दा माथि पुगेको जनाएको छ। यद्यपि बिहीबारदेखि तापक्रममा केही कमी आउने अनुमान गरिएको छ।

मंगलबार सेभियामा २८ डिग्री सेल्सियस र बार्सिलोनामा २७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

बेलायतको मौसमसम्बन्धी निकायले जुन महिनाको औसत तापक्रम १६.९ डिग्री सेल्सियस पुगेको जनाएको छ। यो त्यस महिनाको लागि अहिलेसम्मकै कीर्तिमान हो। बेलायतमा सन् १८८४ यता दोस्रो सबैभन्दा तातो जुन महिना भएको छ।

लन्डनको सेन्ट जेम्स पार्कको तापक्रम ३४.७ डिग्री सेल्सियस पुगेको थियो। त्यो सन् २०२५ को अहिलेसम्मकै सबैभन्दा तातो दिन बन्यो।

सोमबार पनि लन्डनको हिथ्रो विमानस्थल मा ३३.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। बेलायतको जून महिनाको औसत तापक्रम १५.२ डिग्री सेल्सियस पुगेको छ, जुन यस महिनाका लागि दोस्रो उच्चतम हो।

पोर्चुगलमा पनि जुन महिनाका लागि अहिलेसम्मकै उच्च दैनिक तापक्रम ४६.६ डिग्री सेल्सियस मापन गरिएको छ। सो महिनाको औसत तापक्रमसम्बन्धी विस्तृत तथ्यांक भने अझै सार्वजनिक गरिएको छैन।

टर्कीमा लागेको वन डढेलोका कारण दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ। टर्कीमा हालैका केही दिनमा लागेको भीषण डढेलोका कारण उद्धारकर्ताहरूले पश्चिमी प्रान्त इज्मिरसहितका क्षेत्रबाट ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ। दमकल टोलीहरू सयौँ स्थानमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयासमा लागिरहेका छन्।

डढेलोले बिलेसिक, हताय, साकार्या र मानिसा प्रान्तका केही भागमा समेत क्षति पुर्‍याएको छ।

टर्कीका वनमन्त्री इब्राहिम युमाक्लीका अनुसार पछिल्ला तीन दिनमा आपत्‌कालीन टोलीहरूले देशभर २६३ वटा वन डढेलोमा प्रतिक्रिया जनाइसकेका छन्।

इटालीमा अत्यधिक गर्मीका कारण अलगअलग घटनामा दुईजनाको मृत्यु भएको छ।

इफेल टावर बन्द

मंगलबार फ्रान्सभरि गर्मी भयो। सोमबार धेरै सहरहरूले जुन महिनाको अहिलेसम्मकै सबैभन्दा तातो रात र दिन अनुभव गरेका थिए।

पेरिसको ओर्ली विमानस्थलमा केही समयअघि तापक्रम ३७.६ डिग्री सेल्सियस मापन गरिएको छ।

इफेल टावरको माथिल्लो भाग अत्यधिक गर्मीका कारण बन्द गरिएको छ। फ्रान्सकी जलवायु मन्त्री अग्नेस पानिए–रुनासेले यस अवस्थालाई ‘अभूतपूर्व’ भनेकी छिन्।

पाँच वर्षपछि पहिलोपटक पेरिस क्षेत्रमा चरम गर्मीको चेतावनी जारी गरिएको छ। पेरिससँगै अन्य १५ वटा क्षेत्रमा पनि यस्तो उच्चतम स्तरको चेतावनी लागू गरिएको छ।

गर्मीका कारण मंगलबार दिउँसोसम्म फ्रान्सभरि १,८९६ वटा विद्यालय र कलेज बन्द गरिएका छन्।

पोर्चुगलको मोरा क्षेत्रमा आइतबार तापक्रम ४६.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन लिस्बनबाट करिब ६० माइल पूर्व पर्छ। यो मुख्यभूमि पोर्चुगलका लागि हालसम्मकै सबैभन्दा उच्च तापक्रम रहेको त्यहाँको मौसम निकायले जनाएको छ।

जर्मनीमा राष्ट्रिय मौसम सेवाले मंगलबार र बुधबार देशको तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिएको छ।

यस गर्मीका कारण जर्मनीको राइन नदीको पानीको सतह घटेको छ। यो नदी युरोपको प्रमुख जलमार्ग हो। पानी घटेपछि जहाजहरूले कम भार बोक्नुपर्ने र ढुवानी लागत बढ्ने अवस्था आएको छ।

बाल्कन क्षेत्रका देशहरू पनि अत्यधिक गर्मीबाट प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोकर टुर्कले सोमबार भने, ‘उच्च तापक्रम, समुद्र सतहको वृद्धि, बाढी, खडेरी र डढेलोले हाम्रो जीवनमा खतरा निम्तिरहेका छन्।’

उनले जलवायु परिवर्तनबाट जोगिन ऊर्जा स्रोतहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले मानवजन्य कारणले जलवायु परिवर्तन हुँदै गएकाले अझै गर्मी बढ्ने जनाएको छ।

बेलायतको रिडिङ विश्वविद्यालयका जलवायु वैज्ञानिक प्रा. रिचर्ड एलन भन्छन्,
‘उच्च हरितगृह ग्यासका कारण पृथ्वीले अत्यधिक ताप उत्सर्जन गर्न सक्दैन। अझ तातो र सुख्खा वातावरणले माटोलाई छिटो सुकाउँछ, जसले मध्यम गर्मीलाई पनि चरम बनाइदिन्छ।’ बीबीसीबाट

प्रकाशित: १८ असार २०८२ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast